गाँजा बोकेका व्यक्तिहरूले हातपात गरेपछि प्रहरीले चलायो गोली

हिमाल प्रेस २५ पुष २०८१ १९:३६
48
SHARES
गाँजा बोकेका व्यक्तिहरूले हातपात गरेपछि प्रहरीले चलायो गोली

इटहरी- धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बाट प्रहरीले लागुऔषध गाँजा बोकेको पाँच वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी भीमबहादुर दाहालका अनुसार गाँजा बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी-९ स्थित कच्ची सडकखण्डमा चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

एकैसाथ आउँदै गरेका पाँच वटा मोटरसाइकल रोक्ने क्रममा मोटरसाइकलमा सवार रहेका व्यक्तिहरूले प्रहरी टोलीमाथि नै हातपात तथा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले  फायर खोलेको दाहालले जानकारी दिए। उनका अनुसार प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर गरी ओसारपसारमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिइएको हो। गाँजा तस्करीमा संलग्नहरूले मोटरसाइकलमा बोकेको एक सय २० किलोग्राम गाँजासहित ५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको एसएसपी दाहालले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका १ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओमप्रकाश राई, साँगुरीगढी ८ का २८ वर्षीय मंगल कुमार राई, २९ वर्षीय विशन राई, २६ वर्षीय थामबहादुर राई र २१ वर्षीय सुमन राई रहेका छन्। उनीहरूले प्रयोग गरेको को ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को १४ प ७७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

गाँजासहित पक्राउ ६ जनामाथि नै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: २५ पुष २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast