पीएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा : सभापति देउवा

हिमाल प्रेस १३ पुष २०८१ १४:५१ | Saturday, December 28, 2024
पीएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा : सभापति देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पीएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३ औँ पुण्यतिथिमा शनिबार  भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी समकालीन नेताहरुमा धेरै अगाडि रहेको बताए।

सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरे।

नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक सिद्धान्त र आदर्शको राजनीतिलाई सिंहले निष्ठाका साथ अनुसरण गरेको बताए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता सिंहले निष्ठाको राजनीति गर्ने आदर्श योद्धाका रुपमा आफूलाई स्थापित गरेको बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताका अधिकारका लागि सधैँ अग्रमोर्चामा रही स्वर्गीय सिंहले राजनीतिक गरेको स्मरण गरे।

नेपाली कांग्रेसका नेताहरु राजेन्द्र केसी, सबुजकृष्ण बानियाँ, भीमसेनदास प्रधान, गोकर्ण केसी र जीवन डङ्गोललगायत वक्ताले काठमाडौँ उपत्यकामा पार्टीको सङ्गठन विस्तार कसरी गर्ने  भन्ने शिक्षा स्वर्गीय सिंहबाट लिनुपर्ने बताए।

विसं २०५२ मंसिरर २९ गते काठमाडौँ नगरपालिकालाई पीएल सिंहको नेतृत्वमा महानगरपालिका घोषणा गरिएको थियो।

प्रकाशित: १३ पुष २०८१ १४:५१ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast