आहा-रारा पोखरा गोल्डकप : चर्च ब्वाइजको पुनरागमन

हिमाल प्रेस १५ पुष २०७९ १९:१० | Friday, December 30, 2022
आहा-रारा पोखरा गोल्डकप : चर्च ब्वाइजको पुनरागमन

पोखरा– चर्च ब्वाईज युनाइटेड फुटबल क्लब २२ औं आहा-रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार विभागीय नेपाल पुलिस क्लबको अग्रता उत्तरार्धमा चिर्दै चर्च ब्वाइजले अन्ततः जीत हात पारेको हो।

खेलको ७६ औं मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगाएको उसले अतिरिक्त समयमा २-१ को नतिजा पस्किन सफल भएको हो। जीतसँगै चर्च ब्वाइजले अब अंग्रेजी नयाँ वर्षको दिन १७ पुसमा मच्छिद्र फुटबल क्लबसँग क्वाटरफाइनल खेल्ने छ।

क्याराभानसहित ६ पटकको विजेता पुलिसलाई पहिलो खेलमै घर पठाउन चर्च ब्वाइजका लागि अन्जन विष्ट र अनन्त तामाङले गोलको योगदान दिएका हुन्। अञ्जन म्यान अफ दि म्याच समेत घोषित भए। खेलको २५ औं मिनेटमा पुलिसका लागि रविशंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए। उनले डि बक्स एरियाबाट फस्ट बार च्याप्दै गोल गरेका हुन्।

पुलिसले खेलको ७६ औं मिनेटसम्म सो अग्रता कायमै राखे पनि विपक्षी टीम बराबरीमा फर्किन सफल भएको हो। एरिक बिस्टको हेल बल सदुपयोग गर्दै अञ्जनले गोलमा परिणत गरेका हुन्। तेज तामाङको कर्नर बल एरिकले हेड गरेका थिए। निर्धारित समयको खेल बराबरीमा टुंगिएकोमा १०० औं मिनेटमा चर्च ब्याइजले अर्को गोल थपेको हो।

ढुलमुल भएको बल अनन्त तामाङले गोलमा परिणत गरेका हुन्। जीत नजिक पुगेपछि प्यारापिटमा न्युन दर्शकबीच चर्च ब्वाइजका समर्थक हर्षित बने। प्रशिक्षक विक्रम लामाले नयाँ टीम भएकोले खेलाडीको फर्मेसन मिलाउन गाह्रो भएको बताए। आगामी दिनमा टीम सेटसहित खेल्ने प्रतिक्रिया दिए। दोस्रो हाफको इन्जुरी टाइममा भएको गोललाई मान्यता नदिनुमा लायन्स म्यानको कमजोरी भएको पुलिसको गुनासो छ।

शनिबारदेखि क्वाटरफाइनलका खेल सुरु हुने छन्। पहिलो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ क्लब) र धरान फुटबल क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता २३ पुससम्म चल्नेछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा धरान फुटबल क्लबसँग १-० ले पराजित भएको थियो।

प्रकाशित: १५ पुष २०७९ १९:१० | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast