निराशाको व्यापार बन्द गर्न कन्सलटेन्सी सञ्चालकलाई शिक्षा मन्त्रालयको चेतावनी

हिमाल प्रेस १० पुष २०८१ १५:४५ | Wednesday, December 25, 2024
निराशाको व्यापार बन्द गर्न कन्सलटेन्सी सञ्चालकलाई शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निराशाको व्यापार बन्द गर्न कन्सलटेन्सी सञ्चालकहरूलाई (शैक्षिक परामर्शदातृ निकायहरू) लाई चेतावनी दिएको छ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिकाको ठाडो उल्लंघन गरी कन्सलटेन्सी सञ्चालकहरूले मिडियालगायत सामाजिक सञ्जालहरूमा सामाजिक मूल्यमान्यताको प्रतिकूल तथा समाजमा विसंगती र विकृति सृजना गर्न खोजेको भन्दै मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका सेमन्तराज कोइराला (उपसचिव) ले सोमबार एक सूचनामार्फत यस्तो चेतावनी दिएका हुन्।

कन्सलटेन्सी सञ्चालकहरूले ‘नेपालमा केही पनि गर्न सकिँदैन’ भन्ने जस्ता सन्देश प्रवाह हुने गरी आफ्ना सामग्री प्रचारप्रसार गरेको र त्यसप्रति विभिन्न माध्यमबाट मन्त्रालयमा गुनासाहरू आएको कोइरालाले बताए।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (संशोधनसहित) को दफा (४) को अधिनमा रही दफा (५) बमोजिम शैक्षिक परामर्श सेवा वा पूर्वतयारी कक्षा वा भाषा शिक्षण कक्षा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरूले सोही निर्देशिकाको दफा ७ (१) बमोजिमका शर्तहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रबन्ध रहेको छ। निर्देशिकाको दफा (७) को उपदफा (३) ले संस्थाले आफ्नो सेवा सम्बन्धी प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने शर्तहरूको स्पष्ट व्यवस्था गरेको छ।

कन्सलटेन्सीले निर्देशिका पालना नगरे मन्त्रालयले दिएको स्वीकृति रद्द गर्ने कोइरालाले सूचनामा उल्लेख गरेका छन्। ‘अनिवार्य रूपमा निर्देशित शर्तहरू पालना गर्न गराउन हुन सूचित गरिन्छ। अन्यथा संस्थालाई दिएको स्वीकृति ऐ निर्देशिकाको दफा (६) बमोजिम रद्द गरी दफा (१५) बमोजिम अन्य प्रचलित कानुनअनुसार समेत कारवाही गर्न मन्त्रालय बाध्य रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

प्रकाशित: १० पुष २०८१ १५:४५ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast