काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि त्रिवि क्रिकेट मैदान बाहिर जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गर्ने दुई जनाले प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डाटी आदर्श गाउँपालिका–२ घरभई हाल कीर्तिपुर नगरपालिका–८ बस्ने २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका–१ घरभई हाल कीर्तिपुर–७ बस्ने १८ वर्षीय गणेश साउद हुन्।
फाइनल खेलपश्चात अपमानजनक शब्द प्रयोग गरेको, साम्प्रदायिक सद्भाव बिगार्न खोजेको तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय, सञ्चारमाध्यम र पीडितहरूको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
एनपीएलको फाइनल खेल सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले जितेपछि उसका समर्थकहरूमाथि क्रिकेट मैदानबाहिर अभद्र एवं अपमानजनक टिप्पणी गर्दै कुटपिट भएको थियो।
कुटपिटबाट सर्लाहीको बलरा घरभई हाल दरबार हाइस्कुलमा कक्षा ११ मा अध्ययनरत अमनकुमार सिंहको दुवै हात टुटेको छ। सिंहको अहिले वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सुदूरपश्चिम रोयल्सका समर्थकहरूले जनकपुर बोल्ट्सका समर्थकमाथि नश्लीय साम्प्रदायिक दुव्र्यवहार गरेको आरोप छ।