कैलाली- कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको धेरै भयो। पश्चिम तराईका जिल्लामा मंसिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ।
भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहेका उनलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ। ‘खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन’, उनी भन्छन्,‘दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनुपरेको छ।’
स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसादजस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन्। गहुँखेती गरेका किसानहरू पनि मल नपाएर तनावमा रहेका छन्। समयमा मल नपाएपछि मल नहालेरै गहुँ गरेका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ।
भारतीय बजारमा मल उपलब्ध भए पनि सीमा प्रहरीले रोक लगाउने गरेको किसानको गुनासो छ। व्यावसायिक प्रयोजनको लागि नभइ व्यक्तिगत प्रयोजनको लागि भारतीय बजारबाट मल ल्याउन पाउनुपर्ने माग किसानले गर्दै आएका छन्।
सरकारले किसानलाई खेतीको समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौराले बताए। उनले भने, ‘कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ, तर किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन’, उनले भने।
किसानले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरी सरकारले अनुदानमा छुट्याइएको मलको कोटाअनुसार भजनीका एक तिहाइ किसानको माग पूरा नहुने बताए।
‘किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ,’ उनले भने। किसानले एकदुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अवरोध सुरक्षा निकायले गर्न नहुनेमा जोड दिएका छन्।