रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार

हिमाल प्रेस २० कार्तिक २०८१ १३:१५
12
SHARES
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार रवि पक्राउको विरोधमा कास्कीको पोखरामा भएको विरोध प्रदर्शन । फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज तेस्रोपटक म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालत पुर्‍याएको छ। लामिछानेलाई अदालत पुर्‍याएसँगै उनका समर्थकहरू पनि अदालत क्षेत्र उपस्थित भएर प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीले निषेधित क्षेत्र नै तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ। उनका समर्थकहरूले राजनीतिक प्रतिशोधले फसाउन खोजिएको, ठूला भ्रष्टाचारका कान्डको विषयान्तर गराउन पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनकारीले पोखरास्थित वाइचोकबाट निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

लामिछानेलाई कात्तिक २ गते काठमाडौँको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो। यसअघि उनीमाथि अनुसन्धानका लागि प्रहरीले दुईपटक म्याद लिइसकेको थियो। म्याद सकिएपछि आज फेरि अदालत लगिएको हो।

संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौँ पुगेर उनीसँग बयान लिएका थियो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।

बचत अपचलन गर्दा सहकारीले कानुनविपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।

सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्।

सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दासलगायत अझै फरार छन्। लामिछानेले सहकारीबाट रकम नल्याएको तर सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम भने खर्च गरेको संसदीय समितिको निष्कर्ष छ। उनलाई पोखरामा अनुसन्धान सकेर रुपन्देही लैजाने तयारी पनि भइरहेको छ।

तेस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत पुर्‍याइयो

प्रकाशित: २० कार्तिक २०८१ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast