 
                            
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजै पक्राउ पर्ने भएका छन्। उनलाई पक्राउ पर्न प्रहरी रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगिसकेको छ। प्रहरीसँगै पोखरा लाग्नुअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले सबैलाई सम्बोधन गरेर भाषण गर्ने तयारी गरेका छन्।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ पर्ने भएका हुन्।
सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडीआईजी छवि जोशी पक्राउ परिसकेका छन् भने गार्खा मिडियाका सञ्चालक जीबी राई फरार छन्। एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले सहकारी रकम अपचलनसम्बन्धमा लामिछानेलाई दोषी ठहर गर्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो।
यही प्रकरणमा पूर्वडिआईजी जोशी ६ असोजमा पक्राउ परे पनि रास्वपा सभापति लामिछालाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन।
यता लामिछाने पक्राउ पर्नसक्ने भन्दै रास्वपाका कार्यकर्ताहरू काठमाडाैँकाे बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएका छन्। सभापति लामिछाने पक्राउ पर्ने संकेत पाएसँगै रास्वपाले पार्टी कार्यालमा कार्यकर्ताहरूलाई जम्मा हुन सर्कुलर जारी गरेकाे थियाे। अहिले रास्वपाको कार्यालयमा कार्यकर्ताको भीड लागेको छ।
लामिछानेसँगै पार्टी पदाधिकारी पनि पोखरा जाँदै छ। त्यस्तै सबै जिल्लाका नेता कार्यकर्तालाई रास्वपाले भोलि पोखरामा उपस्थित हुन उर्दी जारी गरेको छ। रास्वपाले भोलि पोखरामा शक्ति प्रदर्शन पनि गर्ने भएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 