 
                            
                                            काठमाडौँ- मेक्सिकन सेनाले मेक्सिकोको बाटो भएर अवैध रुपमा अमेरिका हिँडेका दर्जनौँ आप्रवासी चढेको ट्रकमा गोली चलाएको छ। सेनाको गोली लागेर ६ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।
मेक्सिकोको रक्षा मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना मंगलबार भएको जनाएको छ। घटना मेक्सिकोको दक्षिणी राज्यको चियापसस्थित ह्युइक्स्टला सहरनजिक भएको जनाएको छ।
सैन्य कर्मचारीहरूले इजिप्टियन, नेपाली, क्युवाली, भारतीय, पाकिस्तानी र साउदी अरबका ३३ आप्रवासीहरूको ट्रकमा भएको उल्लेख गरेका छन्। यीमध्ये चारजनाको मृत्यु भएको भनिएको छ। ट्रकमा भएका मध्ये १२ जना घाइते छन् भने १७ जना सुरक्षित रहेका छन्। घाइते १२मध्ये दुईजनाको भने उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ। उनीहरू कसैको पनि पहिचान खुलाइएको छैन।
गोलीबारी ग्वाटेमालाको सिमानामा रहेको तपचुला शहरबाट करिब ४१ किलोमिटर (२५ माईल) टाढा भएको हो। यो क्षेत्र आप्रवासी र शरणार्थीहरू मेक्सिको र अन्य देश प्रवेशबिन्दुको रुपमा परिचित छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 