विश्वपकप फुटबल

उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात, दक्षिण अफ्रिका २-० ले पराजित

हिमाल प्रेस २९ जेठ २०८३ ५:३२ | Friday, June 12, 2026
42
SHARES
उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात, दक्षिण अफ्रिका २-० ले पराजित

काठमाडौँ- विश्वकपका सह-आयोजक मेक्सिकोले खचाखच भरिएको अज्टेका स्टेडियममा शुक्रबार राति भएको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-0 गाेलले पराजित गरेको छ। खेलमा तीन खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिए।

दक्षिण अफ्रिकाले ९ खेलाडीमा खेल टुंग्यायो भने मेक्सिको पनि अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो। ब्राजिली रेफ्री विल्टन साम्पाइओले लगातार रातो कार्ड देखाउँदै दक्षिण अफ्रिकाका याया सिथोलेलाई गोल गर्ने अवसर रोकेको आरोपमा र थेम्बा ज्वानेलाई थप्पड प्रहार गरेको कारण मैदानबाट बाहिर पठाए। त्यसपछि मेक्सिकोका सेसर मोन्टेस पनि अन्तिम समयमा फाउल गरेपछि रातो कार्ड पाएका थिए।

कतारमा भएको सन् २०२२ विश्वकपभर जम्मा चार रातो कार्ड देखाइएको थियो। तर विश्वकपको उद्घाटन खेलमै तीन रातो कार्ड देखाइएको यो पहिलो अवसर हो। यसअघि खेलको नवौं मिनेटमै मेक्सिकोले समर्थकलाई खुसी बनाउँदै प्रतियोगिताको पहिलो गोल गरेको थियो।

दक्षिण अफ्रिकाका मिडफिल्डर सिथोलेबाट बल खोस्दै एरिक लिराले ट्याकल गरेपछि बल जुलियन किनोनेससम्म पुगेको थियो। किनोनेसको शक्तिशाली प्रहार गोलकिपर रोनवेन विलियम्सका खुट्टाबीचबाट गोलमा परिणत भयो।

पहिलो हाफ सकिनुअघि किनोनेसले दोस्रो गोल गर्ने अवसर पनि पाए तर १२ यार्डबाट गरेको उनको पहिलो स्पर्शको प्रहार दाहिने पोस्टमा लागेर फर्कियो।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै सिथोलेले गोलतर्फ अघि बढिरहेका ब्रायन गुटिएरेजलाई लडाएपछि रातो कार्ड पाए र दक्षिण अफ्रिकाको अवस्था झन् कठिन बन्यो।

मेक्सिकोका ३५ वर्षीय स्ट्राइकर राउल जिमेनेजले रोबर्टो अल्भाराडोको क्रसमा शक्तिशाली हेडरमार्फत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विश्वकपमा उनको यो पहिलो गोल थियो र गोलपछि भावुक बनेका उनको आँसु समेत देखिएको थियो।

दक्षिण अफ्रिका सन् २०१० मा आफ्नै भूमिमा आयोजना गरेको विश्वकपपछि पहिलो पटक फाइनल चरणमा पुगेको थियो। तर खेलको अन्त्यतिर वैकल्पिक खेलाडी थेम्बा ज्वानेले अल्भाराडोको अनुहारमा थप्पड हानेपछि रातो कार्ड पाए र टोली नौ खेलाडीमा सीमित भयो।

मेक्सिकोका १७ वर्षीय मिडफिल्डर गिल्बर्टो मोरा जो यस विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन्। उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।

खेलको अन्तिम समयमा मेक्सिकोका मोन्टेसले खुलिसो मुदाउमाथि फाउल गरेपछि रातो कार्ड पाए। यद्यपि आयोजक टोलीले दुई गोलको अग्रता कायम राख्दै विजयी सुरुआत गर्न सफल भयो।

मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गरिरहेको छ र टोलीले प्रतियोगिताको सुरुआत उत्कृष्ट ढंगले गरेको छ।

सन् १९७० र १९८६ जस्तै यसपटक पनि मेक्सिको सिटीस्थित प्रसिद्ध एस्टेडियो एज्टेकामा विश्वकपको उद्घाटन खेल आयोजना गरिएको थियो।

फुटबल सुरु हुनुअघि रंगीन उद्घाटन समारोह आयोजना गरिएको थियो। कोलम्बियाली गायिका शकिरा समेत प्रस्तोताका रूपमा सहभागी थिइन्।

त्यसपछि मैदानमा पनि उत्सवमय वातावरण कायम रह्यो। विश्व वरीयतामा १४औँ स्थानमा रहेको मेक्सिकोले आफूभन्दा ४६ स्थान तल रहेको दक्षिण अफ्रिकामाथि सुरुदेखि नै नियन्त्रण कायम गरेको थियो।

दक्षिण अफ्रिकाले प्रारम्भिक गोल उपहारस्वरूप दिएपछि खेलको नतिजा लगभग देखिन थालेको थियो। त्यसमा पनि सिथोलेको रातो कार्डले दक्षिण अफ्रिकाको चुनौती झन् कमजोर बनायो।

राउल जिमेनेजले सन् २०२० नोभेम्बरमा वोल्भरह्याम्प्टन वान्डरर्स एफ.सी. का लागि खेल्दा आर्सनल एफ.सी.विरुद्धको खेलमा ज्यानै जोखिममा पार्ने खालको खोपडीको गम्भीर चोट बेहोरेका थिए। त्यसैले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पहिलो गोल गर्दा उनी भावुक बनेका थिए।

३५ वर्षको उमेरमा जिमेनेजका लागि यो खेल विशेष महत्वको थियो। उनले फुलह्याम एफ.सी. मा बिताएको समयपछि आगामी सिजन पुनः  वोल्भरह्याम्प्टन वान्डरर्स एफ.सी.
फर्किने तयारी गरिरहेका छन्।

खेलको चौथो मिनेटमै उनले गोल गर्ने अवसर सिर्जना गरेका थिए तर गोलकिपर विलियम्सले एक हातले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट रोके। तर दोस्रो हाफको मध्यतिर उनले शानदार हेडरमार्फत गोल गर्दै आफ्नो क्षण सिर्जना गरे र टोलीका साथीहरूसँग उत्सव मनाउँदा भावनाहरू खुलस्त रूपमा व्यक्त गरे।

प्रकाशित: २९ जेठ २०८३ ५:३२ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast