२०२६ फिफा विश्वकपअन्तर्गत क्यानडाको टोरन्टोस्थित टोरन्टो स्टेडियममा शनिबार जर्मनी र आइभोरी कोस्टबीच भएको खेलपछि उत्सव मनाउँदै जर्मनी समर्थकहरू। आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनी राउन्ड अफ ३२ मा स्थान सुरक्षति बनाउन सफल भएको छ। तस्बिर : सिह्नवा/रासस
काठमाडौँ- विश्वकप २०२६ को समूह चरणपछि राउन्ड अफ ३२ (नकआउट चरण) मा प्रवेश गर्ने टोलीहरूको टुंगो लाग्न थालेको छ। आइतबार बिहानसम्म मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।
आयोजक देशमध्ये एक मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो। दक्षिण कोरियामाथि १-० को जित हात पारेको मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै बलियो थालनी गरेको थियो।
समूह ‘डी’ मा संयुक्त राज्य अमेरिका नकआउट चरणमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ। अस्ट्रेलियामाथि २-० को जितसँगै अमेरिका अन्तिम ३२ मा पुगेको हो। यसअघि पाराग्वेविरुद्ध ४-१ को प्रभावशाली जित दर्ता गर्दै उसले प्रतियोगिताको सुरुवात गरेको थियो।
समूह ‘ई’ बाट जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनीले राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरेको हो। यसअघि कुराकाओविरुद्ध ७-१ को फराकिलो जित निकाल्दै जर्मनीले प्रतियोगितामा बलियो सन्देश दिएको थियो।
प्रतियोगिताबाट बाहिरिने टोलीहरू पनि तय हुँदै गएका छन्। हाइटी, टर्किए र ट्युनिसिया विश्वकप २०२६ बाट बाहिरिएका छन्।
समूह ‘सी’ को हाइटी ब्राजिलसँग ३-० ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो। स्कटल्यान्डसँग १-० को हारसँगै सुरुवात गरेको हाइटीले समूह चरण पार गर्न सकेन।
समूह ‘डी’ कै टर्किए १० खेलाडीमा सीमित पाराग्वेसँग १-० ले पराजित भएपछि बाहिरिएको छ। अस्ट्रेलियासँग २-० को हारपछि उसले पुनरागमन गर्न सकेन।
समूह ‘एफ’ को ट्युनिसिया पनि जापानसँग ४-० को फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि स्विडेनसँग ५-१ ले पराजित भएपछि ट्युनिसियाको यात्रा समूह चरणमै रोकिएको हो।
यससँगै विश्वकपको नकआउट चरणतर्फको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
विश्वकप नकआउट चरणको ढाँचा के हो?
विश्वकप २०२६ मा १२ समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका आठ टोलीहरू नकआउट चरणमा प्रवेश गर्छन्।
नकआउट चरण पहिलो पटक ३२ टोलीको राउन्डबाट सुरु हुन्छ। यो परिवर्तन विश्वकप ३२ टोलीबाट विस्तार गरी ४८ टोली पुर्याइएपछि लागू गरिएको हो।
यसपछि क्रमशः राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि प्लेअफ खेलिन्छ। फाइनल खेल १९ जुलाईमा हुनेछ।
चरणगत खेल तालिका
समूह चरण : जुन ११ देखि जुन २७ सम्म
राउन्ड अफ ३२ : जुन २८ देखि जुलाई ३ सम्म
राउन्ड अफ १६ : जुलाई ४ देखि ७ सम्म
क्वार्टरफाइनल : जुलाई ९ देखि ११ सम्म
सेमिफाइनल : जुलाई १४ देखि १५ सम्म
तेस्रो स्थान : जुलाई १८
फाइनल : जुलाई १९




