पक्राउको तयारीपछि रवि लामिछाने कानुनी परामर्शमा

हिमाल प्रेस ६ असोज २०८१ २१:१६
122
SHARES
पक्राउको तयारीपछि रवि लामिछाने कानुनी परामर्शमा रवि लामिछाने

काठमाडौँ- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको तयारीपछि पार्टी कार्यालयमा कानुनी परामर्श जारी रहेको बताइएको छ।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले नयाँ अभिव्यक्ति र नयाँ शक्तिलाई दबाउन खोजेको भन्दै सभापतिमाथि ज्यादति गर्न खोजेको बताएका हुन्।

‘सरकारले ज्यादति गरिरहेको छ। तपाईँहरू सबैलाई धन्यवाद यति छोटो सूचनामा यतिका साथीहरू यहाँ आउनु भयो,’ पार्टी कार्यालय बनस्थलीमा जम्मा भएका कार्यकर्तालाई धन्यवाद दिँदै उनले भने, ‘हामी अहिले कानुनी परामर्शमै छौँ। सरकारलाई यसबारे निर्णय सच्याउन आग्रह गर्दछौँ।’

रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले पनि यसखाले गतिविधि रोकेर अघि बढ्न सरकारलाई आग्रह गरे। आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने जनाएको हो।

बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए। ‘हामी सकेसम्म सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं,’ उनले भने।

प्रहरीले भने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लाछिानेलाई पक्राउको तयारी गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार गृहको निर्देशनपछि लामिछानेलाई पक्राउ गर्न लागिएको हो। संसद्‌मा पेस भएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय आएसँगै गृहमन्त्रालयले यसबारे आवश्यक कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो।

आजै सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पनि पक्राउ परिसकेका छन्। उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक पनि हुन्। त्यस्तै उनका साझेदार जीबी राई भने फरार छन्। लामिछाने तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चाचित ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्धक निर्देशक थिए। संसदीय छानबिन समितिले लामिछानेमाथि गोरखा मिडिया नेटवर्कमा सहकारीमार्फत आएको रकम अपचलन गरेको पाइएको भन्दै कारबाहीको सिफारिस पनि गरेको छ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भिड लागेको छ। बनस्थलीस्थित कार्यालयमा नेता कार्यकर्ताले अहिले पनि लामिछानेको पक्षमा नाराबाजी गरिरहेका छन्।

प्रकाशित: ६ असोज २०८१ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =