रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

हिमाल प्रेस ४ असोज २०८१ १३:२५
10
SHARES
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

लेखनाथ (कास्की)- यहाँको रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले संयुक्त रुपमा बिहीबार रूपा १ र ७ मा पर्ने उक्त चक्रपथको दोस्रो खण्डको शिलान्यास गरेका हुन्।

संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) रु ४७ करोड १८ लाख ९१ हजार लागतमा ३० महिनामा १६ दशमलव १२९ किलोमिटर दूरीको सडक निर्माण हुने भएको छ।

चक्रपथको शिलान्यास गर्दै पूर्व मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले यो सडक निर्माणमा प्राथमिकता दिएको र जसका कारण प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए। प्रदेश सरकारकै सहयोगमा आवश्यकता हेरी गाउँगाउँमा मोटरबाटो पुगेको उनले दाबी गरे।

गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको टिप्पणी गर्दै उहाँले रूपा चक्रपथ बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरे। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चक्रपथ लगायतका विकास निर्माणमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए। सडक निर्माणमा ढिलाइ नगर्न ठेकेदार कम्पनीलाई उनले निर्देशन दिए।

काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले समाधान गर्ने र निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री केसीको भनाइ थियो। रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सडक निर्माणपछि लमजुङ, तनहुँ र कास्कीका सर्वसाधारणका लागि आवागमनमा सहज हुने विश्वास व्यक्त गरे।

आगामी आर्थिक वर्षमा चक्रपथको बाँकी ३५ किलोमिटर सडकलाई बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गरे। निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीयस्तरबाट समस्या नभए समयभन्दा अघि काम सक्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ४ असोज २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =