चालु आवको पहिलो महिनामै राजस्व संकलनमा कमी

हिमाल प्रेस १२ भदौ २०८१ १०:२३ | Wednesday, August 28, 2024
चालु आवको पहिलो महिनामै राजस्व संकलनमा कमी

बागमती- मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा चार करोड ५० लाख १४ हजार राजस्व संकलन गरेको छ।

उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट पाँच लाख ९६ हजार राजस्व संकलन भएको छ।

यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार कम राजस्व संकलन भएको हो। आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले रु चार करोड ७५ लाख ७६ हजार राजस्व संकलन गरेको थियो।

चालु आव २०८१र८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए।

यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व संकलन गरेको छ।

उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट रु सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट एक करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट पाँच लाख ८६ हजार, ढुंगागिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत ८६ लाख ७३ हजार राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताए।

प्रकाशित: १२ भदौ २०८१ १०:२३ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast