युवती बेपत्ता तथा हत्या घटनाको सत्यतथ्य छानबिन गर्न माग

हिमाल प्रेस ५ भदौ २०८१ १९:३३ | Wednesday, August 21, 2024
युवती बेपत्ता तथा हत्या घटनाको सत्यतथ्य छानबिन गर्न माग प्रतीकात्मक तस्बिर।

म्याग्दी– घतानकी १९ वर्षीय मिना परियारलाई बेपत्ता बनाइ हत्या गरेको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आज बेनीमा प्रदर्शन गरिएकाे छ।

दलित एकता सञ्जाल, परियार सेवा समाज र मिजार समाज म्याग्दीको संयुक्त आयोजनामा भएको र्‍याली बेनी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ हत्या गरिएकी मिनाको कंकाल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान छिटो अगाडि बढाउन दबाबका लागि प्रदर्शन गर्नु परेको परियार सेवा समाजका अध्यक्ष प्रेम परियारले बताए।

‘छ महिनाकी गर्भवती मिनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ,’ मिनाकी भाउजु कमला बर्देवाले भनिन्, ‘जंगलमा गाडिएको अवस्थामा भेटिएको कंकाल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको बहानामा सबै आरोपीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ।’

विसं २०८० पुस १६ गतेदेखि मिना बेपत्ता थिइन्। गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा भेटिएको मानव कंकाल, सुनको सिक्री, कपडा र चप्पल उनकै भएको दाबीसहित आफन्तले गत साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले भने जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेको बताए। मिनाका प्रेमी भनिएका रामलाई यसअघि नै पक्राउ गरी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको उनले जानकारी दिए।

विधिविज्ञान प्रयोगशालामा पठाइएको कंकाल, सामग्री र शव परीक्षण प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले बताए। मानव कंकालको परीक्षण गरेर आफन्तलाई बुझाइए आफन्तहरुले भने कंकाललाई सद्गद नगरी बेनी अस्पतालको शवगृहमा राखेका छन्।

प्रकाशित: ५ भदौ २०८१ १९:३३ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast