‘संविधान संशोधन भनेको प्रतिगमन होइन, हामी तानाशाहीसँग लडेर आएकाहरू हौँ’

ओलीको प्रश्न : लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ?

हिमाल प्रेस ३० साउन २०८१ १३:५५
12
SHARES
‘संविधान संशोधन भनेको प्रतिगमन होइन, हामी तानाशाहीसँग लडेर आएकाहरू हौँ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सर्वस्वीकार्य हुने गरी गरिने बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमामाथि छलफल गर्ने क्रममा ओलीले संविधान संशोधनमा प्रतिगमन गर्छ भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाए।

‘संविधान संशोधनको बारेमा हामीले प्रतिगमन गर्छौँ भनेर कसरी सोच्न सकिन्छ? जुन प्रतिज्ञा गरेर, जेका लागि दु:ख कष्ट भोगेर जनप्रतिनिधि भएका छौँ। शपथ लिएका छौँ, बाचा बन्धन सानो कुरा होइन। हामीले लिखत हस्ताक्षर पनि गरेका छौँ,’ उनले भने, ‘लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ? तानाशाहीमाथि विश्वास गर्थ्यौँ भने राणा शासनविरुद्ध कसरी लड्थ्यौँ। हामी त अधिनायकवादमाथि लडेर आएका हौँ। हाम्रो विश्वास लोकतन्त्रमाथि छ। विश्वास नभई ज्यान दिन, टाउको फुटाउ सकिँदैन।’

उनले संविधान संशोधन गर्न सकिने दस्तावेज भएकोले समयानुकूल परिवर्तन गरी संशोधन गर्दै जानुपर्ने पनि बताए। ‘संविधान असंसोधनीय दस्तावेज होइन संशोनधीय दस्तावेज हो। सुशासन र विकासका सन्दर्भमा, समयसन्दर्भअनुसार धाराहरू फेरबदल गर्नुपर्छ,’ उनले भने,’ संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ हामीलाई जेन मन लाग्छ त्यो गर्ने भन्ने होइन। संविधान विकासका लागि हो। सुशासनको लागि हो, जनताको लागि हो।’

संविधान संशोधनमार्फत देश र जनतामाथि धोका दिने काम आफूले गर्नै नसक्ने उनले दोहोर्‍याए। ‘देश र जनताविरुद्ध संविधान संशोधन कसरी हुन्छ? म त तयार छैन। देशका विरुद्ध जनताका विरुद्ध, समावेश मास्ने गरी, संविधानका आधारभूत कुरा मास्ने गरी तयार हुँदैनौँ,’ उनले भने, ‘संविधान संशोधन सहमतिका साथ गरिन्छ। संशोधनका लागि दुई तिहाइ त जसरी पनि चाहिन्छ। जसोतसो दुई तिहाइ पुर्‍याउँ भन्ने होइन। सर्वस्वीकार्यता बनाउने हो।’

संशोधनअघि राजनीतिक दल, जनता, संविधानविद्‌हरूसँग छलफल गरिने पनि ओलीको भनाइ छ। ‘यसका लागि राजनीतिक दलहरूबीच जनताका बिच संविधानविदका बीचमा छलफल जरुरी छ,’ उनले भने, ‘अरु देशका अनुभव हेर्छौँ। तर अरुको नक्कल होइन। हाम्रो आवश्यक संशोधन गर्छौँ। निर्माण हामीले बडो कठिनले गरेका हौँ। यसमा भ्रम राख्न जरुरी छैन।’

प्रकाशित: ३० साउन २०८१ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =