 जंगी अड्डा
                            जंगी अड्डा 
                                            काठमाडौँ- नेपाली सेनाका महासेनानी (कर्नेल) दिरेन्द्रकुमार मल्ललाई नेपाली सेनाको समरी सैनिक जनरल अदालतले सेवाबाट बर्खास्त गरेको छ। मल्लको शैक्षिक कागजपत्रमा मितिको कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार भविष्यका लागि अयोग्न नठहरिने गरी सेवाबाट अगल गरिने फैसला गरेको हो। सैनिक प्रवक्ता गौरब केसीका अनुसार सैनिक अदालतले सेवाबाट अलग हुने र भविष्यका लागि अयोग्य नठहरिने गरी फैसला गरेको छ।
उनी न्युयोर्क स्थित नेपाली नियोगमा संयुक्त राष्ट्र संघको लागि सैनिक सहचारीको रूपमा कार्यरत थिए। केसीका अनुसार महासेनानी मल्ल कार्यरत रहेको न्युयोर्कस्थित नेपाली नियोगमा नयाँ सैनिक अधिकारीलाई पठाउने कार्य अघि बढिसकेको छ।
हिरासतमा राखेर अनुसन्धान गरेपछि सेनाले उनीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको सैनिक अधिकारीले जानकारी दिए। सैनिक अदालतले मल्लको कागजपत्रमा कैफियत देखिएको उल्लेख गरेको छ।
मल्लको उमेरको विषयलाई लिएर सैनिक मुख्यालय जंगी अड्डामा उजुरी परेपछि काठमाडौँ बोलाइएको थियो। त्यसपछि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर अनुसन्धान गरेको थियो। यस्तै अन्यको पनि उजुरी परेमा वा सेनाभित्र आशंका भएमा यसरी उमेर मिलाउने, सर्टिफिकेट मिलाउनेलाई सेनाले कारबाहीको दायरामा ल्याउने भएको छ।
पछिल्ला भर्नामा समस्या नभए पनि अझै पुराना भर्नामा यसरी मिलाएको यसअघि पनि भेटिएकाले यसमा एक टोलीले भित्रीरूपमा अध्ययन गरिरहेको छ। दुई तारे जर्नेल पनि यसरी मिलाउनेमा पर्न सक्ने आशंका छ। यसबारेमा अध्ययन भइरहेको छ। पृतनापति समेत भइसकेका जर्नेलहरू पनि यसरी उमेर मिलाएर सर्टिफिकेट मिलाएर बसेको एक दुई अझै हुन सक्ने आशंका सेनाभित्र छ।
सर्टिफिकेट र उमेरको विषयले सेनाको छवि नै धुमिल हुन थालेपछि माथिल्लो तहमा रहेका सबैको अध्ययन भइरहेको छ। तीन तारे हुने समयमा पनि सबै कागजपत्र दुरुस्त रहेको प्रमाणित भएपछि मात्र बढुवा गरिएको थियो। ताराध्वज पाण्डेले उमेर मिलाएका कारण जागिर जाने भएपछि राजीनामा दिएका थिए।
यसरी सेनामा उमेरको कुराले हलचल भएपछि सेनाको उच्च अधिकारी भेट्दा नेता, निजामाति कर्मचारी र बुझेका आम नागरिकले समेत करसाब वा जरसाब सम्बोधन गर्दै नागरिकता त ठिक छ नि भनेर व्यंग्य कस्ने गरेका छन्। यसले सेनाको इज्जतमा ठूलो दाग लागेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 