युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्न जी-७ का नेताहरू सहमत

हिमाल प्रेस ३१ जेठ २०८१ २०:४६ | Thursday, June 13, 2024
युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्न जी-७ का नेताहरू सहमत

काठमाडौँ- रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी ७ का नेताहरू सहमत भएका छन्। बिहीबार दक्षिणी इटालीमा जी ७ शिखर सम्मेलनमा भेला भएका नेताहरू उक्त ऋण प्रदान गर्न सहमत भएका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेन र इटाली, बेलायत, फ्रान्स, जर्मनी, क्यानाडा र जापानका नेताहरूसँग पुगलियाको लक्जरी बोर्गो इग्नाजिया रिसोर्टमा वार्ताका लागि सहभागी हुनेछन्।

एजेन्डामा सबैभन्दा माथि रुससँगको दुई वर्षभन्दा बढी समयको युद्धपछि किएभलाई रक्षा, बजेटरी सहयोग र पुनर्निर्माणमा सहयोग गर्नका लागि तत्काल ५० अर्ब डलरको ऋण प्रदान गर्ने योजना रहेको छ।

पश्चिमी सहयोगीहरूद्वारा जफत गरिएको रुसी केन्द्रीय बैंकको तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) को ब्याजबाट हुने भविष्यको नाफाविरुद्ध ऋण सुरक्षित गरिनेछ।

“जी७ बाट राम्रो खबरः युक्रेनका लागि थप ५० अर्ब डलर”, जर्मन वित्तमन्त्री क्रिश्चियन लिन्डनरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी यसका लागि स्थिर सम्पत्तिबाट ब्याज प्रयोग गर्दैछौँ– एक स्मार्ट उपकरण जसले (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन)लाई हाम्रो एकता देखाउँछ, युक्रेनलाई ठूलो सहयोग गर्दछ र बजेटको बोझ कम गर्दछ, अब हामी विवरणमा काम गरिरहेका छौँ ।’

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको कार्यालयले बुधबार यस वर्षको अन्त्यसम्म रकम उपलब्ध गराउने सम्झौता भएको बताएका थिए। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बिहीबार भने, ‘हामी यहाँ राम्रो नतिजाको सङ्घारमा छौँ ।’ उनले अझै पनि थप विवरण बाहिर निकाल्न आवश्यक रहेको बताए।

आफ्नो आगमनअघि जेलेन्स्कीले शिखर सम्मेलनमा ‘महत्त्वपूर्ण निर्णय’ को आशा गरेको बताएका थिए। उनले पुगलियामा जापान र अमेरिकासँग थप दुई सम्झौतामा हस्ताक्षर गर्ने पनि बताए। सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि जी७ का मुलुकहरू युक्रेनको प्रमुख सैन्य र वित्तीय समर्थक भएका छन् । रासस/एजेन्सीज
–––

प्रकाशित: ३१ जेठ २०८१ २०:४६ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast