समुद्री तटमा युक्रेनी ड्रोन खस्दा ७ जनाको मृत्यु, ४० जना घाइते

हिमाल प्रेस १९ साउन २०८३ १०:४१ | Tuesday, August 4, 2026
10
SHARES
समुद्री तटमा युक्रेनी ड्रोन खस्दा ७ जनाको मृत्यु, ४० जना घाइते

दक्षिणी रूसको समुद्री तटमा एउटा ड्रोन खस्दा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालको भिडियोमा एउटा ड्रोन समुद्रकिनार नजिकको चट्टानतर्फ तीव्र गतिमा उड्दै आएको र त्यसपछि समुद्री तटमा ठोक्किएर ठूलो विस्फोट भएको देखिन्छ। त्यसबेला धेरै पर्यटकहरू किनारमा तथा समुद्रमा रमाइरहेका थिए।

क्रास्नोडार क्षेत्रका गभर्नर वेनियामिन कोन्ड्रात्येभका अनुसार घाइतेमध्ये १७ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

उनले यो घटनालाई नागरिकमाथि गरिएको योजनाबद्ध आक्रमण भन्दै युक्रेनलाई दोष दिएका छन्। युक्रेनले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन। दुवै पक्षले आफूहरूले जानाजानी सर्वसाधारणलाई निशाना नबनाउने दाबी गर्दै आएका छन्।

ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट भएको छैन। बीबीसी का अनुसार केही युक्रेनी टेलिग्राम च्यानलहरूले इलेक्ट्रोनिक युद्ध प्रणालीले ड्रोनको संकेत (सिग्नल) अवरुद्ध गरेपछि नियन्त्रण गुमाएर समुद्री तटमा खसेको दाबी गरेका छन्।

रूसी सञ्चारमाध्यमहरूले उद्धृत गरेका केही प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि मेसिनगनजस्तै गोली चलेको आवाज सुनिएको थियो।

यो घटना कालो सागर किनारको आर्खिपो-ओसिपोभ्का गाउँ नजिकको समुद्री तटमा भएको हो। न्यानो मौसम, लामो समुद्री किनारा र विकसित पर्यटन पूर्वाधारका कारण यो क्षेत्र रूसी पर्यटकहरूको लोकप्रिय गन्तव्य मानिन्छ।

त्यहाँ रहेका पर्यटक तथा स्थानीय बासिन्दाले आक्रमणअघि कुनै साइरन नबजेको बताएका छन्। एक पर्यटकले भने,‘हामीले सन लाउन्जरले आफूलाई छोप्यौं र विस्फोट कहाँ भयो भन्ने देख्न सकेनौं।’

अर्का प्रत्यक्षदर्शीले भने,‘मैले ड्रोन ठोक्किएको देखिनँ, तर मेसिनगनजस्तो गोली चलेको आवाज र त्यसपछि ठूलो विस्फोट सुनें।’

तेस्रो व्यक्तिले भने,‘यो सबै मेरो बच्चाहरूको अगाडि भयो। मेरो बच्चा अहिले मानसिक रूपमा निकै आघातमा परेको छ।’

पछिल्लो एक वर्षमा युक्रेनले रूसको गहिराइसम्म लामो दूरीका ड्रोन आक्रमण गर्न उल्लेखनीय सफलता हासिल गरेको छ। युक्रेनले ऊर्जा पूर्वाधार तथा सैनिक प्रयोजनका लागि प्रयोग हुने दाबी गरिएका गोदामहरूलाई निशाना बनाउँदै आएको छ।

प्रकाशित: १९ साउन २०८३ १०:४१ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast