गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिन कांग्रेस तयार

हिमाल प्रेस ३ जेठ २०८१ १४:१०
42
SHARES
गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिन कांग्रेस तयार रवि लामिछाने

काठमाडौँ- जारी अवरोधलाई स्थगित गरेर प्रतिनिधिसभा बैठक खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार भएको छ। सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि भने कांग्रेस लचक भएको छ।

आज बिहान ११ बजेको संसद् बैठक स्थगित गरेर दलहरू छलफलमा जुटेका थिए। संसद् बैठक अपराह्न ४ बजे बस्दैछ। कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार गृहमन्त्री बोलेपछि कांग्रेसका सांसदले पनि बोल्नेछन्। यसबारेको सहमति कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुख देवराज घिमिरेलाई जानकारी गराउनेछन्।

बुधबार प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच छानबिन समिति बनाएर अघि बढ्ने सहमति भएको थियो। सोही आधारमा प्रधानमन्त्रीले कांग्रेसका नेतासँग छलफल गरेका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेसले संसदीय दलको कार्यालयमा सांसदहरूसँग राय लिएको थियो।

रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग थियो। उता, सभापति लामिछानेले भने आफूले संसद्‌मा बोल्न पाउनुपर्ने माग राख्दै आएका थिए।

प्रकाशित: ३ जेठ २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast