एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

हिमाल प्रेस १ वैशाख २०८१ ७:१० | Saturday, April 13, 2024
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

खोटाङ- नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्।

शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो। अध्यक्षमा राईले तीन सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दंगालले एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए।

दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन्। पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भए। समावेशी उपसचिवमा कविता राई विजयी भएका हुन्। आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिए।

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भए। दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भइन्। उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भए। खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भए। पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८१ ७:१० | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast