अब पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै चुनावकाे टिकट पाउँछन् : केपी ओली

हिमाल प्रेस ९ चैत २०८० ६:५० | Friday, March 22, 2024
अब पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै चुनावकाे टिकट पाउँछन् : केपी ओली फाइल तस्बिर।

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले चुनावमा उम्मेदवार बनाउने बताएका छन्।

एमाले बागमती प्रदेशले बिहीबार मध्यपुरथिमिस्थित बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षणमा उनले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिइने बताए।

पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उनले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिने बताए।

अध्यक्ष ओलीले भने,‘देश र जनताका काममा सक्रिय भएर लाग्नुस्। समाजको विकासमा लाग्नुस्। पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइन्छ। अब आउने पार्टीको अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस् पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्।’

विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस् कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइन भनेर टिकट माग्न आउने गरेको स्मरण गरे।

पार्टीले जिल्लामा भेला र प्रशिक्षणको आयोजना गर्ने र ती भेला र प्रशिक्षण पार्टीको परीक्षाका रुपमा अगाडि बढ्ने भन्दै उनले देश र पार्टी बनाउन एमालेको नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: ९ चैत २०८० ६:५० | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast