काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने निर्णय गरेको बैठकले नयाँ गठबन्धनमा निर्माण भएको सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जनमुखी कार्य सम्पादनका लागि निर्देशन दिएको छ ।
महाधिवेशनका लागि पार्टी मातहतका सङ्गठनका गतिविधि, कार्ययोजनाबारे बैठकमा समीक्षा गरिएको थियो ।
बैठकमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनामा समेत छलफल गरिएको थियो । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्न लागिएको छ । रासस