चार दलबीच संयुक्त सरकार गठन गर्ने सहमति

माओवादीलाई राष्ट्रियसभा अध्यक्ष, एमालेलाई उपाध्यक्ष

हिमाल प्रेस २१ फागुन २०८० २१:२७
12
SHARES
माओवादीलाई राष्ट्रियसभा अध्यक्ष,  एमालेलाई उपाध्यक्ष

काठमाडौँ- नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच नयाँ संयुक्त सरकार गठन गर्नेलगायतका आठबुँदे सहमति भएको छ। चार दलबीच सोमबार यस्तो सहमति भएको हो।

सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सहमति भएको छ।

यसैगरी चार दलबीच राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।

दलहरूबीच सरकारमा सहभागी दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ।

सहमतिको बुँदामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषय सहमतिका आधारमा अविलम्ब टुंग्यायाउ चार दल सहमत भएका छन्। सहमतिको बुँदामा भनिएको छ, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने।’

यसैगरी सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्न चार दल सहमत भएका छन्।

साथै यी सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्न पनि दलहरू सहमत भएका छन्। ‘हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौँ’, सहमतिपत्रमा उल्लेख छ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २१ फागुन २०८० २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast