ताप्लेजुङमा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

हिमाल प्रेस १५ फागुन २०८० १५:४२ | Tuesday, February 27, 2024
ताप्लेजुङमा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

फुङ्लिङ- ताप्लेजुङमा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप अभियानअन्तर्गत ताप्लेजुङका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खोप लगाउन लागिएको हो।

यही फागुन १८ देखि २२ गतेसम्म फुङ्लिङ नगरपालिका, पाथीभरा यावरक, सिदिङवा, र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए।

त्यस्तै मेरिङदेन, मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका क्षेत्रमा फागुन २४ देखि २८ गते सम्ममा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका दश हजार बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ।

खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ-आफ्ना बालबालिकालाई खोप लगाउन कार्यालयले आह्वान गरेको छ। खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाइएको छ । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।

दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन्। हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: १५ फागुन २०८० १५:४२ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast