आगलागीकै पीडामा थियो दोभान बजार, पीडाबाट निस्किन नपाउँदै फेरि सर्वस्व गुम्यो

हिमाल प्रेस १२ असोज २०८३ ६:३३ | Monday, September 28, 2026
आगलागीकै पीडामा थियो दोभान बजार, पीडाबाट निस्किन नपाउँदै फेरि सर्वस्व गुम्यो

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३, स्थित दोभान बजारमा ६ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ ।

पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी विस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबार भएको आगलागीले पुनः बिचल्लीमा पारेको छ।

बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन् । आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन्। केही पीडित भने जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र पुनर्निर्माणको तयारीमा जुटेका छन् ।

छोराहरूसँग बस्दै आएका ८६ वर्षीय स्यामलाल खरेलका लागि यो आगलागी विगतको पीडा दोहोरिएजस्तै भएको छ । “पटकपटकको आगलागीले ठूलो पीडा दियो । व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो, अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?” उनले भनिन् ।

अर्का अग्निपीडित चन्द्र पौडेल पनि छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा पर्दा पुनःस्थापनाको चिन्तामा छन् । ‘छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो, यसो तङ्ग्रिँदै गर्दा पुनः आगलागीले सखाप पार्यो’, उनले भने, ‘अब सरकारले दिने सामान्य राहतले हाम्रो समस्या समाधान हुँदैन । सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदियोस्, हामी पुनःस्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्छौँ । नत्र आफैँले गर्न सक्ने अब कुनै उपाय छैन ।’

उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताए । नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ ।

आगलागीपीडित परिवार तत्कालका लागि आफन्त तथा छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरू अहिले जलेका सामान तथा भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र सम्भव भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनमा जुटेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिकालगायत सरकारी तथा गैरसरकारी निकायले तत्कालका लागि पीडितपरिवारलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन् । पीडितले भने तत्कालको राहतभन्दा दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारको विशेष सहयोग आवश्यक रहेको बताएका छन् ।

बिहीबार दिउँसो भएको आगलागीमा आठ परिवारका १० घर तथा १७ वटा पसल जलेको प्रारम्भिक विवरण छ । आगलागीबाट करिब १४ करोड ५० लाखबराबरको क्षति भएको बताइएको छ । सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो ।

सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेको उद्योग वाणिज्य संघ दोभानले जनाएको छ ।

बजारमा यसअघि २०७७ साल फागुनमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीले ४९ घर जलेका थिए भने करिब ४० करोडभन्दा बढीको क्षति भएको थियो । त्यसबेला सर्वस्व गुमाएका कतिपय व्यवसायी तथा परिवार विस्तारै आफ्नो व्यवसाय पुनर्स्थापित हुँदै थिए । ६ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै मानसिक र पारिवारिक रूपमा ठूलो संकटमा परेका छन् । रासस

प्रकाशित: १२ असोज २०८३ ६:३३ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast