बाग्लुङ– बाग्लुङस्थित एक विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा उजुरी परेको छ। भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको हो।
विद्यालय व्यवस्थापन समिति र सरोकारवाला संघ संस्थाले गरेको अनुगमनबाट बागलुङ नगरपालिका ७ को गौरीशंकर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य पत्ता लागेको हो।
यसपछि सो संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन्। भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाईं र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए। उजुरी दर्ता गर्दा श्रेष्ठले छानामा परेको प्वाल, सोसम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचारकपी र अन्य कागजातसमेत संलग्न गरेका छन्।
गत साउनमा उक्त विद्यालयमा भ्वाङ परेको समाचार प्रकाशित थियो। यो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो। यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ।
छानामा प्वालैप्वाल परेकाले विद्यार्थी राखेर पढाउनसमेत नसकी बर्सातमा बालबालिकालाई एकै स्थानमा दुई-दुईवटा कक्षा सञ्चालन गर्नुपरेको थियो ।
सप्लायर्स कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लगाइएको छ। उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसलाई दोषी बनाइएको हो।
विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर आयोजना र कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका थिए।
विद्यालयको दुईकोठे भवनको छानामा गुणस्तरहीन जस्तापाता प्रयोग गर्दा सयौं भ्वाङ परेको थियो। विद्यालयको छानामा सयौँ प्वालहरू परेको अनुगमनबाट पनि पुष्टि भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए। विद्यालयमा बिजोग भएको देखेपछि मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने तयारी भएको सापकोटाले जानकारी दिए।

                                             
                                             
                                             
                                             
                                             
                                             

