शैक्षिक सुधार अभियानमा आँबुखैरेनी

हिमाल प्रेस १ मंसिर २०८० ११:५८
128
SHARES
शैक्षिक सुधार अभियानमा आँबुखैरेनी

तनहुँ- आँबुखैरेनी गाउँपालिकाले शैक्षिक सुधार अभियान अगाडि बढाएको छ। गाउँपालिकाले सुरु गरेको सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा तनहुँका संघसंस्थाले हातेमालो गरेका छन्।

गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारी, टोल सुधार समिति, संघसंस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन्। उक्त अभियानका लागि हालसम्म १३ लाख ६९ हजार चार सय आठ रुपैयाँ संकलन भएको छ।

हालसम्म २४ वटा संघसंस्थाले अभियानका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
अध्यक्ष चुमानले भने, ‘हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्ने योजनासहित अगाडि बढेका छौँ। त्यसका लागि हातेमालो गरेर यहाँका संघसंस्थाले सामाजिक उत्तरदायित्व वहन गरेका छन्।’

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ। गाउँपालिकाले रूप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चारवटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए। चुमानले भने, ‘हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ। शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ।’

रूप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्र छात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्तामोजा तथा टिसर्ट वितरण गरिएको छ। गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी मावि र मर्स्याङ्दी आधारभूत विद्यालयमा पुराना डेस्क बेन्च हटाएर नयाँ व्यवस्था गरेको छ।

शैक्षिक सुधार अभियानअन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्टटिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस प्रदान गर्ने योजना छ।

उनले भने, ‘कतिपय विद्यालयका विद्यार्थी विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ,त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ। त्यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन्।’

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन्। ती विद्यालयमा करिब चाररपाँच सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १ मंसिर २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast