काठमाडौँ- नेकपा एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता गर्दैछ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने भएको छ।
एमालेको संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।
संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।
काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन पार्टीले भेलामा सहभागी हुन आउने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा उपस्थित हुन आग्रह गरेको छ।
एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीको संगठनात्मक एकता थप सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।



