काठमाडौँ- बाराको जितपुरबाट २३७.१७ किलोग्राम गाँजा बरामद गरिएको छ।
शनिबार बेलुका सिमरा उपमहानगरपालिका १ पथलैया चेकपोष्ट नजिकबाट अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीबाट गाँजा बरामद भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीब्र गतिको गाडीमा शंका लागेर चेकजाँच गर्न खोज्दा चालकले गाडी भगाएका थिए।
तत्काल प्रहरी चौकी पथलैया र तालुक इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए।
उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल फेला परेको थियो । उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७।१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको हो।



