काठमाडौँ- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ।
हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ। प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन।
सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए।
पदक तालिकामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रो स्थानमा छ। एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ। त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ।
गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेस प्रदेशले भने दुई कास्य पदकमात्र प्राप्त गरेको छ । कर्णालीको पदक सङ्ख्या शून्य छ।



