पिठ्युँमा गाँजा बोकेर ल्याए, प्रहरी देखेपछि खेतमा फ्याँकेर फरार भए

हिमाल प्रेस २१ भदौ २०८३ ९:३० | Sunday, September 6, 2026
पिठ्युँमा गाँजा बोकेर ल्याए, प्रहरी देखेपछि खेतमा फ्याँकेर फरार भए प्रतीकात्मक तस्बिर।

काठमाडौँ- बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १५१ किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे पचरौता नगरपालिका–७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा प्रहरी टोलीले एम्बुस थापेर निगरानी गरिरहेको थियो।

प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंहको नेतृत्वमा र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले धानखेतको आलीको बाटो हुँदै ८–९ जना अपरिचित व्यक्तिहरू पिठ्युँमा झोलाजस्तो बनाएर केही बोकेर आउँदै गरेको देखेको थियो।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लखेटेपछि ती व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएका थिए। प्रहरीले बरामद गरेका गाँजाका पोका तौल गर्दा जुटको बोरासहित प्रत्येक पोका करिब १६.७७ किलो रहेको र ९ वटा पोकामा कुल १५१ किलो गाँजा फेला परेको डीएसपी घलेले बताएका छन्।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको छ।

गाँजा फालेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित: २१ भदौ २०८३ ९:३० | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast