काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीलाई विदाई गरेको हो।
एकदिवसीय शृंखलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरिसकेको थियो। लिग–२ प्रतियोगितामा नेपालको यो अन्तिम शृंखला हो।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको शीर्ष चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन्। लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि नेपालका लागि उक्त शृंखला निकै महत्वपूर्ण रहेको छ।
विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानेले प्रिमियर कप र ओमानमा टोलीले गरेको विगतको प्रदर्शनले टोलीमा सकारात्मक मनोवैज्ञानिक ऊर्जा दिएकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे। एकदिवसीय मान्यता जोगाइराख्न र टोलीलाई विश्वकप छनोटसम्म पु¥याउनका लागि राम्रो खेल प्रदर्शन गर्ने उनको भनाइ छ।
त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले विगतको नजिताका आधारमा मैदानमा फर्कँदा टोलीको मनोबल र आत्मविश्वास उच्च हुने बताए। उनले क्यानडा र ओमान अंकतालिकामा नेपालभन्दा माथि रहेकाले उनीहरू विरुद्ध स्पष्ट रणनीति बनाएर मैदान उत्रिनु आवश्यक रहेको उल्लेख गरे।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म ३६ खेल खेलेको स्कटल्यान्ड ४५ अंकसहित तालिकाको पहिलो स्थानमा छ। ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको दोस्रो स्थानमा र समान ३२ खेल खेलेको नेदरल्यान्ड्स ३८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। ३२ खेलबाट २४ अंक बटुलेको नेपाल सातौँ स्थानमा रहेको छ।



