काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तिम चरणमा प्रवेश गर्न लाग्दा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता गम्भीर संकटमा परेको छ।
आठ टोली सहभागी प्रतियोगितामा अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया र नेपालले ३६ मध्ये ३२-३२ खेल खेलिसकेका छन्। ओमान र क्यानडाले समान २८-२८ खेल खेलेका छन् भने यूएईले सबैभन्दा कम २४ खेल खेलेको छ।
हालै नेदरल्यान्ड्समा सम्पन्न त्रिकोणात्मक शृंखलामा नामिबिया र नेदरल्यान्ड्ससँग लगातार चारै खेल पराजित भएपछि नेपाल थप दबाबमा परेको हो।
अघिल्लो विश्वकप क्रिकेट लिग अवधिमा बाँकी १२ खेलमध्ये ११ मा चामत्कारिक जित निकाल्दै नेपालले ओडीआई मान्यता जोगाउनुका साथै शीर्ष चारमा स्थान बनाएको थियो।
तर यसपटक भने विश्वकप क्रिकेट लिगका चार खेल बाँकी रहँदा ती सबै जिते पनि नेपालको ओडीआई मान्यता सुरक्षित हुने निश्चित छैन।
हाल नेपाल ३२ खेलबाट २४ अंकसहित आठ टोलीको तालिकामा छैटौँ स्थानमा छ। नेपालभन्दा तल २४ खेलबाट १४ अंक जोडेको यूएई मात्र छ। २८ खेलबाट २४ अंक रहेको क्यानडाले भने अझै आठ खेल खेल्न बाँकी छ, जसले नेपाललाई कमजोर अवस्थामा पुर्याएको छ।
नेपालले क्यानडा र ओमानविरुद्धका बाँकी चारै खेल जिते पनि अधिकतम ३२ अंक मात्रै बनाउन सक्छ। ओमानसँग अहिल्यै ३१ अंक छ र उसले अझै आठ खेल खेल्न बाँकी छ। त्यसैले ओमानले एउटा मात्र खेल जिते पनि नेपाल शीर्ष चारमा पुग्ने सम्भावना समाप्त हुनेछ।
अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्डले यसअघि नै शीर्ष चारमा स्थान सुरक्षित गरिसकेकाले नेपालले २०२७ आईसीसी पुरुष क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा प्रत्यक्ष स्थान बनाउने सम्भावना लगभग सकिएको छ।
लिग-२ का शीर्ष चार टोलीले ग्लोबल क्वालिफायरमा प्रत्यक्ष प्रवेश पाउँछन्। पाँचौँदेखि आठौँ स्थानमा रहने टोलीहरूले भने च्यालेन्ज लिगका शीर्ष चार टोलीसँग प्लेअफ खेल्नुपर्ने हुन्छ। उक्त प्लेअफबाट चार टोली मात्रै ग्लोबल क्वालिफायरमा पुग्नेछन्।
नेपालको ओडीआई मान्यता पनि यही प्रक्रियासँग जोडिएको छ। नेपालले च्यालेन्ज लिगबाट आउने टोलीहरूभन्दा माथि स्थान बनाउन सकेन भने उसले आफ्नो ओडीआई मान्यता गुमाउनेछ।
च्यालेन्ज लिगमा १२ टोली सहभागी छन्। उनीहरूले दुईवर्षे अवधिका १५-१५ खेल खेल्छन्। टोलीलाई ६-६ टोलीका दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन्।
हाल समूह ‘ए’ मा जर्सी र कुवेत पहिलो र दोस्रो स्थानमा छन् भने समूह ‘बी’ मा युगान्डा र इटाली शीर्ष दुई स्थानमा छन्।
बाँकी पाँच खेलपछि पनि यही अवस्था कायम रह्यो भने यी चार टोलीले विश्वकप क्रिकेट लिगका पुछारका चार टोलीसँग प्लेअफ खेल्नेछन्।
नेपालले कम्तीमा छैटौँ स्थानमा प्रतियोगिता समाप्त गर्न सकेमा ओडीआई मान्यता कायम रहनेछ।
तर सातौँ वा आठौँ स्थानमा झरे नेपाल प्लेअफमा अझ जोखिममा पर्नेछ, जहाँ च्यालेन्ज लिगका बलिया टोलीहरूले गम्भीर चुनौती दिन सक्छन्।
बाँकी चारै खेल जित्न सके नेपालले शीर्ष ६ मा रहने सम्भावना बलियो बनाउन सक्छ। तर त्यसका लागि क्यानडासहित अन्य टोलीहरूको खेल परिणाम पनि नेपालको पक्षमा आउनुपर्नेछ।


