काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन्। निर्वाचन समितिले मतदान अपराह्न ३ बजेसम्म सञ्चालन गर्ने र मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ।
बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा ढिलाइ, खराब मौसम र प्राविधिक समस्याका कारण आज बिहानका लागि सारिएको हो।
साँझ मतदान सुरु गर्दा रातिसम्म प्रक्रिया लम्बिने र प्रतिनिधिहरूलाई कठिनाइ हुने देखिएपछि बिहानैदेखि मतदान गराउने निर्णय गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। उनीहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न मताधिकार प्रयोग गर्नेछन्।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने?
निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि विभिन्न स्थानमा मतदान केन्द्र निर्धारण गरेको छ। प्रतिनिधिहरूले आफ्नो प्रदेश तथा समूहअनुसार तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई-मधेश समूह
हिमाल हल : गण्डकी प्रदेश
तराई-मधेश हल : मधेश प्रदेश
पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको केन्द्रमा जानुपर्नेछ। मतदान गर्नुअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गर्ने तयारी गरेको छ।
मतपत्रको संख्या धेरै भएकाले छपाइमा ढिलाइ भएको र मतपत्रमा हस्ताक्षर गर्ने काममा ३२ जना वरिष्ठ अधिवक्ता खटिएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताए। उनका अनुसार मतदानका लागि आवश्यक तयारी पूरा भइसकेको छ।



