अदालत धाइराख्ने अध्याय अन्त्य गर्न इतर समूहलाई गगनको आग्रह

हिमाल प्रेस २१ असोज २०८३ १८:२२ | Wednesday, October 7, 2026
18
SHARES
अदालत धाइराख्ने अध्याय अन्त्य गर्न इतर समूहलाई गगनको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापनइतर समूहका नेताहरुलाई आह्वान गरेका छन्।

बुधबार काठमाडौंको खुल्लामञ्चमा पार्टीको महाधिवशेनअन्तर्गत बन्दसत्रको अन्तिम दिन सम्बोधन गर्दै थापाले पुराना नेताहरूले पार्टी निर्माणमा दिएको लामो योगदानको स्मरण गर्दै पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापनइतर समूहका नेताहरुलाई आह्वान गरे।

उनले अब अदालत धाइराख्ने र समय बर्बाद गर्ने काम छोडेर यो अध्यायलाई यहीँ अन्त्य गर्नुपर्ने उल्लेख गरे।

उनले वैशाख ४ गतेको अदालतको फैसलापछि नै आफूले १५औँ महाधिवेशनतर्फ जाने र अदालत नधाउने स्पष्ट पारिसकेको स्मरण गराए।

थापाले पार्टीभित्र असहमति राख्न, प्रश्न गर्न र विरोध गर्न पाइने भए पनि अन्ततः पार्टीको नियम, पद्धति र अनुशासनभित्र सबै बाँधिनुपर्ने स्पष्ट पारे।

अदालतको आदेशअनुसार तोकिएको समयमा नै अधिवेशन सम्पन्न गर्नुपर्ने दबाबका कारण केही जिल्ला वा क्षेत्रमा विवाद र कमजोरीहरू रहन गएको स्वीकार गर्दै थापाले अन्याय वा विवाद भएका विषयहरुलाई सच्चाउने प्रतिवद्धता जनाए। उनले बन्दसत्रको समाप्तीसँगै पार्टीभित्रको सवै गुटबन्टी समाप्त भएको बताए।

महाधिवशेनको अन्त्यसँगै अब पार्टीलाई नयाँ विधि र पद्धतिबाट सञ्चालन गरिने उनको भनाइ छ। उनले पार्टीभित्र युवा र नयाँ नेताहरुलाई स्थान दिनका लागि पदाधिकारीलगायत सदस्यहरुको संख्या थप गरिएको बताए।

थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरे। उनले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला-पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे। पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ।

थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने बताए। उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताएका छन्।

सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए।

प्रकाशित: २१ असोज २०८३ १८:२२ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast