काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्रमा थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक र राष्ट्रिय कार्यदिशा प्रस्ताव गर्न लागेका हुन्।
थापाको प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, राजनीतिक उपलब्धि र पूरा हुन बाँकी दायित्वको समीक्षा गर्दै पछिल्लो दुई दशकको राजनीतिक अभ्यासबाट सिक्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी, युवा पुस्तासँग बढेको दूरी तथा निर्वाचनमा भएको पराजयलाई कांग्रेसले आत्मसमीक्षाको विषय बनाउनुपर्ने उल्लेख गरिएको छ।
प्रतिवेदनमा भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रम, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको दूरी, अर्थतन्त्र, बसाइँसराइ र विश्वमा भइरहेको तीव्र परिवर्तनलाई राष्ट्रिय चुनौतीका रूपमा विश्लेषण गरिएको छ।
थापाले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने दल नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्। जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, प्रमाणमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीको परिवेशअनुकूल पुनर्व्याख्या गर्दै ‘समुन्नत नेपाल’ निर्माणको अवधारणा अघि सारिएको छ। समुन्नतिलाई आर्थिक वृद्धिमा मात्र सीमित नगरी नागरिकको सामर्थ्य, अवसर, सहनिर्माण र जवाफदेहितासँग जोडिएको छ।
प्रतिवेदनमा आगामी कांग्रेस ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ हुनुपर्ने खाका प्रस्तुत गरिएको छ। सदस्यता र नागरिक सहभागिता विस्तार, आन्तरिक लोकतन्त्र सुदृढीकरण, अर्थपूर्ण समावेशिता, पुस्तागत नेतृत्व निर्माण, स्वच्छ वित्तीय प्रणाली तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्डलाई संगठन सुधारका आधारका रूपमा अघि सारिएको छ।
थापाले आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका लक्ष्य हासिल गर्ने राजनीतिक योजना अघि सारेका छन्। प्रतिवेदनमा लोकतन्त्रको प्रतिफल जनजीवनमा पुर्याउने, नागरिकका आकांक्षा पूरा गर्ने र कांग्रेसका मूल राजनीतिक मूल्यप्रति अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ।



