लाग्यो दसैँ, जोमसोम आइपुगे डोल्पाका भेडाच्यांग्रा

हिमाल प्रेस १९ असोज २०८३ ८:३५ | Monday, October 5, 2026
लाग्यो दसैँ, जोमसोम आइपुगे डोल्पाका भेडाच्यांग्रा

मुस्ताङ- दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्यांग्राको व्यापारिक चहलपहल सुरु भएको छ। यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्यांग्राका बथान आइपुगेका छन्। उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्यांग्रा जोमसोम आइपुग्ने बताइएको छ । डोल्पाका व्यापारी शेरबहादुर रोकाया आफ्ना पाँच सहकर्मीसहित करिब १ हजारभन्दा बढी भेडाच्यांग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका छन् ।

डोल्पाबाट जोमसोम आइपुग्न रोकायाको टोलीलाई एक साताभन्दा बढी समय लागेको छ । विगत ३० वर्षदेखि च्यांग्राको व्यापार गर्दै आएका रोकायाले यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्यांग्रा जोमसोम ल्याएको बताएका छन्।

डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेको रोकायाको टोली असोज १७ गते साँझ जोमसोम आइपुगेको हो । हाल ती भेडाच्यांग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ। डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा यात्रा निकै कठिन बनेको रोकायाले जानकारी दिएका छन्।

माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्यांग्रा खरिद गरी जोमसोम ल्याइएको हो । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्यांग्रा खरिद गर्नुपरेको रोकायाले बताएका छन्।

डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडाच्यांग्रा जोमसोम ल्याउने तयारी भइरहेको छ। सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै व्यापारीहरू च्यांग्रा लिएर जोमसोम आइपुगेका हुन् । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्यांग्रामा ठूलो लगानी गरिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्यांग्रा जोमसोम झरिरहेका छन्। गत वर्ष ११ हजारभन्दा बढी च्यांग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो। बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्यांग्रा पोखरा लैजान थप समस्या हुने देखिन्छ । व्यापारी रोकायाले आफ्नो सबै सम्पत्ति च्यांग्रामै लगानी भएको बताए । दसैँका बेला डोल्पा फर्कने बाटो सरकारले समयमै सहज बनाइदिए धेरै राम्रो हुने उनको भनाइ छ ।

प्रकाशित: १९ असोज २०८३ ८:३५ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast