गगन थापाको प्रतिवेदनअनुसार कांग्रेस खच्किनुका यस्ता छन् कारण

हिमाल प्रेस १९ असोज २०८३ ७:०४ | Monday, October 5, 2026
गगन थापाको प्रतिवेदनअनुसार कांग्रेस खच्किनुका यस्ता छन् कारण

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्ला दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि निर्मम आत्मसमीक्षा गरेका छन्। उनले कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको, नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको, सार्वजनिक नियुक्तिमा भागबन्डा र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको स्वीकार गरेका छन्।

थापाका अनुसार यस्ता अभ्यासले कांग्रेसको नैतिक विश्वसनीयता मात्र कमजोर पारेनन्, सार्वजनिक संस्थाको स्वायत्तता र नागरिकको राजनीतिक दलप्रतिको भरोसासमेत कमजोर बनायो।

उनले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न नहुने तर ती उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु पार्टीको प्रमुख कमजोरी भएको बताएका छन्।

२०६२/०६३ को जनआन्दोलनले शान्ति, लोकतन्त्र, समावेशिता र नयाँ अवसरको अपेक्षा जगाएको तथा शान्ति प्रक्रिया, संविधानसभा र २०७२ को संविधानले त्यसलाई संस्थागत आधार दिएको उल्लेख गर्दै थापाले संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक, प्रतिनिधित्व र स्थानीय सरकारको विस्तारलाई महत्वपूर्ण उपलब्धिका रूपमा स्वीकार गरेका छन्।

तर नागरिकको अपेक्षा संविधान र राजनीतिक संरचना निर्माणमा मात्रै सीमित नरहेको उनको निष्कर्ष छ। नागरिकले न्यायमा सहज पहुँच, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र आफ्नै देशमा भविष्य खोजेका थिए। संविधानमा अधिकार थपिएपछि सरकारी कार्यालयमा अपमान घट्ने, प्रतिनिधित्व बढेपछि आफ्नो आवाज निर्णय प्रक्रियामा पुग्ने र शान्तिपछि उत्पादन, उद्यम तथा रोजगारी बढ्ने अपेक्षा भए पनि धेरै नागरिकका लागि अपेक्षा र दैनिक अनुभवबीचको दूरी घट्न नसकेको उनले बताएका छन्।

थापाले संविधान निर्माणपछि मुलुकले आफ्नो प्राथमिकता बदल्न नसकेको पनि स्वीकार गरेका छन्। द्वन्द्वबाट शान्ति र संविधानसम्मको संक्रमणमा पहिलो दशकको ठूलो ऊर्जा खर्चिएपछि दोस्रो दशकमा त्यही ऊर्जा सार्वजनिक सेवा, संविधान कार्यान्वयन र आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने भए पनि कांग्रेसले त्यसअनुसार आफ्नो प्राथमिकता, कार्यशैली र संस्थागत क्षमता परिवर्तन गर्न नसकेको उनको निष्कर्ष छ।

‘उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दियौँ’

प्रतिवेदनको सबैभन्दा कडा आत्मस्वीकारोक्तिका रूपमा थापाले कांग्रेसले दुई दशकका शासनगत कमजोरीको जिम्मेवारी अरूमाथि पन्छाउन नमिल्ने बताएका छन्।

उनका अनुसार कांग्रेसले ‘उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दिएको’ छ। नीतिगत सहकार्य लेनदेनमा सीमित हुनु, भ्रष्टाचार तथा अनियमितताका प्रश्नमा आफ्नै पक्षलाई जोगाउने प्रवृत्ति, सार्वजनिक नियुक्तिमा भागबन्डा र योग्यताको सम्मान कमजोर बनाउने अभ्यासले पार्टीको नैतिक विश्वसनीयता र संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ।

सरकार परिवर्तनसँगै कार्यक्रम र नीति रोक्ने प्रवृत्तिले नीतिगत निरन्तरता भंग गरेको तथा नेतृत्वको कमजोर कार्यसम्पादन र घट्दो विश्वसनीयताले कांग्रेसले हासिल गरेका वास्तविक उपलब्धिसमेत ओझेलमा परेको थापाको निष्कर्ष छ।

‘उपलब्धि थिएनन्’ भन्ने होइन, उपलब्धिको महत्त्व नागरिकको अनुभवमा स्थापित गरेर त्यसैका आधारमा विश्वास कायम राख्न नसक्नु पनि कांग्रेस नेतृत्वको चूक भएको उनले स्वीकार गरेका छन्।

पार्टी जीवनसमेत नागरिकका सरोकारभन्दा टिकट वितरण र गुटीय समीकरणमा सीमित भएको थापाले बताएका छन्। संगठन निर्वाचनकेन्द्रित हुँदा अध्ययन, नीति निर्माण र सामुदायिक काम कमजोर बनेको तथा अवसरमा क्षमताभन्दा नेतृत्वसँगको निकटता हावी भएको उनको भनाइ छ।

निर्वाचनपूर्व गठबन्धनले कांग्रेसको स्वतन्त्र पहिचान र जनसम्बन्ध कमजोर बनाएको उल्लेख गर्दै थापाले आफ्नै चुनाव चिह्नमा आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धा गर्ने दिशालाई पुनः पुष्टि गर्ने बताएका छन्।

युवालाई पर्याप्त सहभागिता नदिनु र अल्पकालीन सत्ताका लागि राजनीतिक मूल्यमा सम्झौता गर्नुले लोकतन्त्रवादी नागरिकको भरोसा घटाएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यो विश्वास प्रचारबाट नभई आलोचना सुन्ने, गल्ती सच्याउने र आफ्नै पक्षमा समेत नियम लागू गर्ने व्यवहारबाट मात्रै फर्काउन सकिने थापाको निष्कर्ष छ।

प्रकाशित: १९ असोज २०८३ ७:०४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast