बाढीका कारण भन्दै फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित, मंसिर २४ मा आउने

हिमाल प्रेस १६ भदौ २०८३ ७:३७ | Tuesday, September 1, 2026
बाढीका कारण भन्दै फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित, मंसिर २४ मा आउने

काठमाडौँ- भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भन्दै फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ। आर्टिस्टिक इन्टरटेन्मेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएको हो।

फिल्मको नयाँ प्रदर्शन मिति आगामी मंसिर २४ गते बिहीबार तोकिएको निर्माण पक्षले जानकारी दिएको छ । निर्माण पक्षका अनुसार भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको घटनाप्रति आफूहरू स्तब्ध र मर्माहत भएका छन् । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

देशको एक भूगोल प्राकृतिक विपत्तिमा परेका बेला सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित प्रदर्शन स्थगित गरिएको निर्माण पक्षले जनाएको छ ।

‘सिनेमा समाजको ऐना मात्र नभई मानवीय संवेदनाको संवाहक पनि हो’ भन्ने मान्यतासहित विपद्को समयमा पीडितप्रति ऐक्यबद्धता जनाउन प्रदर्शन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । यस निर्णयबाट दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ ।

यसैबीच, ‘बा : एक योद्धा’ परिवारले विपद्को समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । राष्ट्र शोकमा डुबेको यस परिस्थितिमा राहत तथा उद्धार कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न निर्माण पक्षले देश तथा विदेशमा रहेका नेपालीलाई आग्रहसमेत गरेको छ ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् । चलचित्र आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित: १६ भदौ २०८३ ७:३७ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast