भोटेकोशी बाढीको ‘साइड इफेक्ट’ : त्रिशूली सुसाउँदैमा लुगलुग काम्छन् मुग्लिनका बासिन्दा

हिमाल प्रेस ३० भदौ २०८३ ९:२७ | Tuesday, September 15, 2026
भोटेकोशी बाढीको ‘साइड इफेक्ट’ : त्रिशूली सुसाउँदैमा लुगलुग काम्छन् मुग्लिनका बासिन्दा नारायणगढ-मुग्लिन सडकखण्ड। तस्बिर- रासस

चितवन- यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन्। उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ।

इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन्। आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छन्। उनले भनिन्, ‘बाढी देखेका थियौ। यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले सताइ रहेको छ।’

मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन्। यही भदौ १० गतेदेखि उनले न फोन अफ गर्न सकेकी छन्, न त रातिमा राम्रोसँग निदाएकी छन्। उनले भनिन्, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ।’ अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उनले बताइन्।

अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । अझै चिन्तामा बस्नुपरेको बताउँदै उनले अब केही राहत हुन्छ की भन्ने लागेको बताइन्। उनले थपिन्, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।’

स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उनलाई सताइ रहेको छ। खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ।

साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उनले दुःखेसो सुनाए। अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उनले गुनासो गरे।

त्रिशूलीमा ‘र्‍याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उनले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताए । उनले भने, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ।’ पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उनले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताए ।

अहिले पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन्। विगतका वर्षमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो।

प्रकाशित: ३० भदौ २०८३ ९:२७ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast