राष्ट्रिय विभूति फाल्गुनन्दको २५ फिट अग्लो र आठ फिट चौडाइको सालिक बन्ने

हिमाल प्रेस ३० भदौ २०८३ १०:१९ | Tuesday, September 15, 2026
राष्ट्रिय विभूति फाल्गुनन्दको २५ फिट अग्लो र आठ फिट चौडाइको सालिक बन्ने

इलाम- इलामको माङ्सेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक राख्ने भएको छ । माङ्सेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो।

किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण थालिएको माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए। त्यहाँ निर्माणाधीन फाल्गुनन्दको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ।

माङ्सेबुङ गाउँपालिकाले स्थानीय राजेन्द्र खजुमको अध्यक्षतामा निर्माण समिति गठन गरी सालिक निर्माणलाई तीव्रता दिएको हो । तीन रोपनी दुई आना क्षेत्रफलमा उद्यानसहितको फाल्गुनन्दको सालिक निर्माण सुरु गरिएको अध्यक्ष खजुमले बताए। उनका अनुसार सालिक २५ फिट अग्लो र आठ फिट चौडाइको हुनेछ।

सालिक निर्माणका लागि माङ्सेबुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा रु ३६ लाख बजेट विनियोजन गरेको छ । यसअघि गत आव ०८२/८३ मा रु २५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट पार्कसहित सालिक राख्नेस्थल व्यवस्थापन तथा सालिकको आधार तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

किरात धर्म, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनसँगै माङ्सेबुङ गाउँपालिकालाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पार्कसहितको सालिक निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘माङ्सेबुङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल हो। पछिल्लो समय वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मभूमि पनि हो”, उनले भने, “यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने योजनाका साथ काम गरिहेका छौँ ।”

सालिकसँगै परिसरमा आवश्यक पूर्वाधार निर्माण, सौन्दर्यीकरण तथा पर्यटकीय आकर्षणका संरचनासमेत विकास गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष खजुमले बताए। पार्कमा फाल्गुनन्दको पूर्ण कदको एउटा ठूलो सालिक र वरिपरि साना आठ वटा सालिक राखिनुका साथै पर्यटकलाई आराम गर्ने ठाउँ, मनोरञ्जनका लागि काठेपिङ, च्याब्रुङ, साकेलालगायत सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने ठाउँलागयतको संरचना निर्माण गरिने उनको भनाइ छ।

‘फाल्गुनन्दको सालिक विश्वमा धेरै ठाउँमा निर्माण गरिएका छन् । तर, यहाँ निर्माणाधीन सालिक अहिलेसम्म निर्माण भएकामध्ये सबैभन्दा अग्लो र ठूलो हुनेछ’, उनले भने, ‘एक विशाल सालिकसँगै वरिपरि आठ वटा अन्य ससाना सालिकहरु पनि राखेर अझ आकर्षक बनाइनेछ ।’

आफ्नो क्षेत्रमा किराती समुदायका राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक निर्माण हुने भएपछि स्थानीयबवासीसमेत हर्षित भएका छन् । यसले माङ्सेबुङको मात्र नभई कोशी प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने स्थानीय किसन सुब्बा बताउँछन्। ‘पार्कसहितको फाल्गुनन्दको अहिलेसम्मकै ठूलो सालिक निर्माणले माङ्सेबुङको मात्र होइन, कोशी प्रदेशकै महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नेछ’, उनले भने, ‘निर्माणाधीन दमक–चिसोपानी सडकले पूर्णता पाएपछि यहाँ आवताजावत गर्नसमेत सहज हुनेछ।’

फाल्गुनन्दलाई किरात धर्मावलम्बीहरुले महागुरु एवं किरात धर्मदर्शनदाताको रुपमा मान्ने गर्दछन्। फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते माङ्सेबुङ गाउँपालिका–२, इभाङ चुक्चीनाम्बामा भएको थियो । भाषा, लिपि, संस्कार, संस्कृति एवं किरात समाज सुधारका भन्दै फाल्गुनन्दले विसं १९८८ वैशाख १४ गते सात बुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरेका थिए । ‘सत्यधर्म मुकचुल्का’मार्फत समाज सुधारका अभियानलाई नयाँ पुस्तासम्म पु¥याउने अभियान्ता फाल्गुनन्दको निधन विसं २००५ चैत २० गते पाँचथरको लब्रेकुटीमा भएको थियो ।

प्रकाशित: ३० भदौ २०८३ १०:१९ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast