काठमाडौँ- नुवाकोट माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडकछेउको एउटा चिया पसलमा पसेका थिए। त्यत्तिकैमा एक्कासि ठूलो गर्जन उनको कानमा ठोक्कियो। बाहिर निस्किएर स्याँफ्रुबेँसीतर्फ हेर्दा उनले जीवनमै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढी आकाशै छुने गरी उर्लिएको जस्तो लाग्यो। त्यसको गड्गडाहटले रसुवाको सदरमुकाम धुञ्चेसमेत थर्किएको थियो।
‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो कि पाँच दश मिनेट मैले केही सोच्नै सकिनँ,’ उनले भने,‘एकछिनपछि झल्यास्स सम्झिएँ, अब मेरो जहान र बच्चाहरूलाई कसरी जोगाउने?’
धुञ्चेबाटै उनले त्रिशूली नदीको बगरमा रहेको नुवाकोटको विदुर नगरपालिका-१० भैँसेस्थित घर सम्झिए र श्रीमती गंगालाई फोन गरे। तर फोन उठेन। ‘श्रीमतीको फोन मरिकाटे उठ्दैन,’ उनले त्यो क्षण सम्झँदै भने।
श्रीमतीसँग सम्पर्क हुन नसकेपछि उनले ९ कक्षामा पढ्ने छोरी एविकालाई फोन गरे। उत्तरगया बोर्डिङ स्कुल जाँदै गरेकी एविकाले एक कलमै फोन उठाइन्। बुबाले धुञ्चेबाट देखिरहेको र सुनिरहेको भयावह दृश्य सुनाएपछि उनी बाटोबाटै पाखोतिर दौडिइन्। ‘छोरीले एक कलमै फोन उठाइन्,’ वीरबहादुरले भने, ‘त्यसपछि केहीबेरमै श्रीमती र दाइ रमेशले पनि फोन उठाए।’
त्यतिबेला गंगा खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया साइली र दुई वर्षको बालकलाई घरमाथिको सुरक्षित पाखोमा पुर्याइसकेका थिए।
वीरबहादुर आफ्नै माइक्रोबस चलाउँछन्। बेत्रावती-काठमाडौँ रुटमा नियमित गाडी चलाउने उनी बाढी आएको दिन भने गोसाइँकुण्ड जाने धादिङका १० यात्रु लिएर बिहानै धुञ्चे पुगेका थिए। ‘भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ,’ उनले भने।
अरू दिन भएको भए उनी बिहानभरि बेत्रावती र भैँसे क्षेत्रमा यात्रु खोजिरहेका हुन्थे। तर त्यस दिन धुञ्चेमै भएकाले बाढीबारे समयमै थाहा पाए। ‘अरू दिन हुन्थ्यो भने म मात्र होइन परिवार नै बाढीमा बग्थ्यो,’ उनले भने, ‘धुञ्चेमा भएकैले बेलैमा खबर पाएँ। मेरो एक कलले परिवार, छरछिमेक मात्रै होइन, टोलकै बासिन्दालाई बचाउन सकियो।’
उनका अनुसार मानिस सुरक्षित भए पनि टोलका अधिकांश घर भने भोटेकोशीको भेलमा विलीन भए। पाँच जनाको परिवार सकुशल बचेकामा उनी अहिले पनि सन्तुष्ट छन्। ‘सम्पत्ति फेरि जोड्न सकिएला, तर जीवन फेरि कहाँ पाइन्छ?’ उनले भने।
श्रीमती गंगालाई पनि श्रीमान्को त्यो फोनले धेरैको ज्यान जोगिएकोमा सन्तोष छ। ‘खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, सुरुमा धेरैले विश्वासै गरेनन्,’ उनले भनिन्,‘टिमुरे र स्याँफ्रुबेँसी पूरै बगायो भनेपछि मात्रै सबै भाग्न थाले।’
तर उनले दुःखले जोडेको करिब १० तोला सुन र १४ लाख रुपैयाँ भने जोगाउन सकिनन्। केही वर्षअघि बनाएको एकतले पक्की घरमा अर्को तला थप्ने योजना पनि बाढीसँगै बग्यो। ‘गहना र पैसा लिएर भाग्न खोजेको भए परिवारै बग्थ्यो,’ उनले भनिन्,‘मैले त्यसलाई ज्यानभन्दा ठूलो ठानिनँ, त्यसैले आज नयाँ जीवन पाएँ।’ उनका अनुसार भैँसेमा पनि सुन र नगद निकाल्न खोज्दा धेरै मानिस बाढीमा परेका थिए।
रमेश गुरुङका अनुसार भाइको एउटा फोनले आफ्ना दुई परिवारका १० जना मात्र होइन टोलका करिब ३० परिवारलाई समेत समयमै सुरक्षित स्थानतर्फ भाग्न मद्दत गर्यो। भैँसेमा खानाखाजाको पसल चलाउँदै आएका रमेशका अनुसार रसुवागढी नाका, कैलाश मानसरोवर र गोसाइँकुण्ड जाने यात्रुका कारण व्यापार राम्रो चलिरहेको थियो। ‘पसलमा धेरै ग्राहक थिए, खाना बनाउँदै थिएँ,’ उनले भने,‘एक्कासि भाइको फोन आयो। सबैलाई बाढी आएको भन्दै भाग्न भनेँ। धेरैले विश्वास गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो।’
उनका अनुसार धुञ्चेबाट फोन आएपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा लागेको थियो। त्यो समय ज्यान बचाउन पर्याप्त भए पनि चेतावनी पत्याउनेहरूले मात्रै त्यसको लाभ लिन सके। ‘अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको जस्तो लाग्छ,’ उनले भने, ‘तर बाढीमा कति जनाले ज्यान गुमाए भन्ने यकिन तथ्याङ्क छैन।’
झन्डै एक करोड रुपैयाँ लगानीमा बनाएको घर र त्यही घरमा सञ्चालन भएको पसल पनि बाढीले बगायो। दैनिक २०–२५ हजार रुपैयाँ कारोबार हुने व्यवसाय गुमे पनि घर बनाउँदाको करिब ४० लाख रुपैयाँ ऋण अझै बाँकी छ।
बाढीका बेला विद्यालय गएको कान्छो छोरासँग चार घण्टापछि मात्रै सम्पर्क भएको उनले बताए। ‘बाढीले बगायो कि भन्ने चिन्तामा थिएँ,’ उनले भने,‘पछि स्कुलका साथीहरूसँग सुरक्षित रहेको थाहा पाएँ।’
उनले श्रीमतीलाई मोबाइल लिन घरभित्र पस्न नदिँदा ज्यान बचेको पनि सुनाए। तर यो परिवार पूर्ण रूपमा शोकमुक्त छैन। त्रिशूली अस्पतालमा नर्स रहेकी परिवारकी सदस्य तेराना तामाङलाई बाढीले बगायो। ‘सबै शोकमा छन्,’ रमेशले भने,‘एकले अर्कोलाई हेरेर चित्त बुझाउनुपरेको छ।’
भदौ १० गतेको बाढीपछि भैँसेका करिब १५० विस्थापितलाई नजिकैको होल्डिङ सेन्टरमा राखिएको छ। रमेशसहित छ परिवार भने गैरीखर्कमा आफन्तकहाँ आश्रय लिएर बसेका छन्। ‘म दिनहुँ होल्डिङ सेन्टर जान्छु,’ उनले भने,‘खानेकुराको कमी छैन। तर यसरी धेरै दिन बस्न सकिँदैन। सरकारले स्थायी बसोबासको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो।’
उनका अनुसार विस्थापित अभिभावकलाई छोराछोरीको पढाइको चिन्ताले सताएको छ। बालबालिका, महिला र परिवारका सदस्य गुमाएकाहरूलाई मनोसामाजिक परामर्शको पनि खाँचो छ।
विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपालले वडा सबैभन्दा बढी प्रभावित भएको बताए। उनका अनुसार २५६ परिवारका करिब एक हजार २०० जना प्रभावित भएका छन् भने २३९ जना बेपत्ता छन्। उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी पनि बेपत्ता रहेको प्रारम्भिक तथ्यांक छ।
उनले विस्थापितलाई सुरक्षित स्थानमा राखिएको र प्रभावित विद्यार्थीलाई नजिकका विद्यालयमा पढाइ निरन्तर गराउन अभिभावकलाई सुझाव दिइएको बताए। नगरपालिकाले प्रत्येक विस्थापित परिवारलाई तत्कालका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए। ‘विभिन्न संघसंस्था र निकायबाट सहयोग आइरहेको छ,’ उनले भने,‘सरकारले स्थायी बसोबासको व्यवस्था नगरेसम्म विस्थापितलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेका छौँ।’ रासस


