निर्माण सामग्रीको मूल्य पाँच वर्षयताकै उच्च

हिमाल प्रेस २३ भदौ २०८३ १८:१७ | Tuesday, September 8, 2026
निर्माण सामग्रीको मूल्य पाँच वर्षयताकै उच्च

काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिकमा निर्माण सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार वैशाखदेखि साउनसम्म निर्माण क्षेत्रको इनपुट मूल्य सूचकांक (आईपीआईसीएस) बढेर १६०.४ पुगेको छ, जुन पाँच वर्षयताकै उच्च हो।

कार्यालयले सार्वजनिक गरेको चौथो त्रैमासिकको प्रारम्भिक तथ्यांकअनुसार निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिको मुख्य कारण इँटा र तामामा आधारित विद्युतीय तारको मूल्यमा आएको ठूलो वृद्धि हो। यद्यपि सिमेन्ट र स्टिलजस्ता प्रमुख संरचनात्मक सामग्रीको मूल्य भने सो अवधिमा खासै बढेको छैन।

आईपीआईसीएसमा निर्माण सामग्रीको भार ७०.५ प्रतिशत र श्रम तथा मानव संसाधनको भार २९.५ प्रतिशत छ। आर्थिक वर्ष २०८२/८३ को समग्र वार्षिक औसत मूल्यवृद्धि १.९४ प्रतिशत रहेकोमा श्रमको लागत २.९२ प्रतिशतले बढेको थियो भने निर्माण सामग्रीको मूल्य १.३४ प्रतिशतले मात्रै बढेको थियो। तर अन्तिम त्रैमासिकमा निर्माण सामग्रीको मूल्यवृद्धि श्रम लागतभन्दा तीव्र बनेको हो।

निर्माण सामग्रीमध्ये सबैभन्दा बढी भार रहेको सिमेन्टको मूल्य वार्षिक आधारमा ०.४३ प्रतिशतले घटेको छ। त्यसैगरी फलामे डन्डी र स्टिल बिलेटको मूल्य २.१९ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।

सोही अवधिमा इँटाको मूल्य १७.९४ प्रतिशतले बढेको छ। सूचकांकमा ३.२१ प्रतिशत भार रहेको विद्युतीय तारको मूल्य भने वार्षिक आधारमा ३४.३६ प्रतिशतले वृद्धि भएको छ। विभिन्न निर्माण क्षेत्रमा श्रमिकको ज्याला पनि तीनदेखि पाँच प्रतिशतसम्म बढेको छ।

कार्यालयका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य बढ्नु, आयात लागत वृद्धि हुनु र स्वदेशमा आपूर्ति दबाब पर्नु मुख्य कारण हुन्।

२०८२ को पहिलो अर्धवार्षिकमा आपूर्ति अवरोध तथा डाटा सेन्टर, विद्युत् प्रसारण सञ्जाल र विद्युतीय सवारीसाधनमा तामाको बढ्दो मागका कारण अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य उल्लेख्य रूपमा बढेको थियो। नेपाली रुपैयाँ कमजोर हुँदा आयातित तथा आयातमा निर्भर सामग्रीको लागतसमेत बढेको छ।

यसैगरी, स्वदेशमा इन्धनको मूल्य उच्च भएपछि इँटा, बालुवा, गिट्टी र फलामजस्ता भारी निर्माण सामग्रीको ढुवानी लागत बढेको छ। कोइलाको मूल्यवृद्धि तथा मनसुन सुरु हुनुअघि इँटा भट्टाको उत्पादन बन्द हुने क्रमले पनि इँटाको मूल्य बढाउन योगदान गरेको एनएसओले जनाएको छ।

प्रकाशित: २३ भदौ २०८३ १८:१७ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast