काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको बसमा भएको आगलागी।
काठमाडौँ- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडिको सडकमा बस आगलागीका कारण विभागको विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि राहदानी छपाइ तथा वितरण सेवा प्रभावित भएको छ।
विभागले सोमबार जारी गरेको सूचनामा विद्युत् र इन्टरनेट सेवामा आएको अवरोधले राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको र त्यसका कारण राहदानी वितरणमा कठिनाइ भएको जनाइएको छ। विभागले राहदानी आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्यपूर्वक सेवा लिन आग्रह गरेको छ।
विभागका अनुसार राहदानी आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सञ्चालन भइरहेका छन्। विद्युत् र इन्टरनेटसम्बन्धी समस्या समाधान भएपछि राहदानी वितरण सेवा पनि नियमित हुने विभागले जनाएको छ।
सोमबार बिहान राहदानी विभागअगाडिको सडकमा बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
आगलागीमा बस चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।


