काठमाडौँ- हिमालयन अर्गनाइजेसनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बस नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाइमा अटो एक्स्पोमा कम्पनीले DONGFENG का दुईवटा बस मोडल सार्वजनिक गरेको हो।
डोङफेङ मोटर कर्पोरेसन चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। कम्पनीले विश्वस्तरीय प्रविधिको प्रयोग गर्दै यात्रुवाहक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
पाँच दशकभन्दा लामो अनुभव, गुणस्तर, विश्वसनीयता, सुरक्षा तथा नवीन प्रविधिका कारण डोङफेङले विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाएको कम्पनीको भनाइ छ। एशिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत विभिन्न देशमा डोङफेङका सवारीसाधन सञ्चालनमा छन्।
कम्पनीका अनुसार डोङफेङका उत्पादन विश्वका विभिन्न देशमा निर्यात हुँदै आएका छन्। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस पहिले नै बिक्री हुँदै आए पनि बसतर्फको प्रवेशले नेपाली बजारमा नयाँ विकल्प थपिएको छ।
यसअघि हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले भारतको FORCE MOTORS तथा चीनको SAIC समूहअन्तर्गतको MAXUS का सवारीसाधन नेपाली बजारमा आधिकारिक विक्रेताका रूपमा बिक्री गर्दै आएका छन्। नेपाल सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति अघि बढाइरहेको र ग्राहकको माग पनि विद्युतीय सवारीतर्फ बढ्दै गएकाले नयाँ विद्युतीय बस सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
नाइमा अटो एक्स्पोमा सार्वजनिक गरिएको डोङफेङको ७.२ मिटरको कम्फर्टबस २५+१ सिट तथा २७+१ सिट क्षमताको बस रहेका छन्। यी बसको मूल्य १ करोड १५ लाख रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। एक्स्पोमा पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुट दिने व्यवस्था गरिएको छ।
ग्राहकको मागअनुसार थप सुविधा
कम्पनीले ग्राहकको मागअनुसार बसमा विभिन्न अतिरिक्त सुविधा थप गर्न सकिने जनाएको छ। जसअनुसार २ लाख रुपैयाँसम्मको मूल्य पर्ने बसमा थप ३ वर्षको Extended Warranty समेत खरिद गर्न सकिनेछ।
हाल सार्वजनिक गरिएको बसमा एयर कन्डिसनिङ नरहे पनि ग्राहकको मागअनुसार थप एयर कन्डिसनिङ जडान गरी खरिद गर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै, ग्राहकको मागअनुसार Luxury Seat समेत जडान गर्न सकिने कम्पनीले जनाएको छ।
बसको प्रवेशद्वारमा ग्राहकको आवश्यकताअनुसार एक वा दुईवटा अतिरिक्त ढोका थप गर्न सकिने तथा बसको पछाडिको भागमा ह्वीलचेयरका लागि र्याम्प समेत राख्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीले निकट भविष्यमा ९ मिटरका स्कूल बस, ११ मिटरका २८ सिट क्षमताका बस तथा अन्य मोडल समेत नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ। यी बसहरूको मूल्य तथा अन्यविवरण कम्पनीले पछि सार्वजनिक गर्ने बताएको छ।
कम्पनीका अनुसार हाल सार्वजनिक गरिएका बसहरू नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको तुलनामा प्रतिस्पर्धी मूल्यमा ग्राहकसमक्ष प्रस्तुत गरिएको छ। ग्राहकलाई आकर्षित गर्न विशेष छुट तथा मागअनुसारका सुविधा उपलब्ध गराउने रणनीति लिइएको कम्पनीले जनाएको छ।
डोङफेङका सवारीसाधन तथा बसहरू नेपालमा हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न शाखा तथा डिलरमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।


