सेयर बजार
काठमाडौँ- पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्ने योजना सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढ्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर दुई हजार ६३३.६२ अंकमा पुगेको छ। यो भदौ १ पछि भएको सबैभन्दा ठूलो एकदिने वृद्धि हो। भदौ १ मा नेप्से ७९.७४ अंकले बढेको थियो।
सरकारले सोमबार ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३’ सार्वजनिक गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो। कार्ययोजनामा पुँजी बजारको प्रभावकारिता बढाउने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विभिन्न उपाय प्रस्ताव गरिएको छ।
कार्ययोजनाले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा मूल्य निर्धारणको नयाँ प्रणाली लागू गर्ने, मार्जिन कर्जा र सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बन्ड बजार विकास गर्ने तथा गैरआवासीय नेपाली (एनआरएन) लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गराउने प्रस्ताव गरेको छ।
त्यस्तै संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तथा नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र धितोपत्र दलाल व्यवसायलाई आधुनिकीकरण गर्ने विषय पनि कार्ययोजनामा समेटिएको छ।
मंगलबारको ‘प्रि–ओपन सेसन’ मै नेप्से ८६.०५ अंक अर्थात् ३.३२ प्रतिशतले बढेको थियो। उक्त अवधिमा दुई लाख ८५ हजार आठ १० कित्ता सेयर एक करोड २३ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो। नियमित कारोबारका क्रममा भने नेप्सेले केही वृद्धि गुमायो। दिनको उच्चतम विन्दु दुई हजार ६७९.५४ पुगेपछि अन्ततः दुई हजार ६३३.६२ अंकमा बन्द भयो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर बढेर आठ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। यो वैशाख १ यताकै उच्च कारोबार हो। मंगलबार ७८ हजार आठ सय ६९ कारोबारमार्फत दुई करोड तीन लाख ९० हजार कित्ता सेयर किनबेच भएका छन्। दुई सय ६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको घट्यो भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
व्यक्तिगत कम्पनीतर्फ दिव्यश्वरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशतले बढ्यो। सिन्धु विकास बैंकको ११.०३ प्रतिशत र मल्टिपर्पस फाइनान्स कम्पनीको ९.७३ प्रतिशतले वृद्धि भयो।
यता ८.५ प्रतिशत एभरेस्ट बैंक डिबेन्चरको मूल्य सबैभन्दा धेरै ५.५५ प्रतिशतले घट्यो। १० प्रतिशत केबीएल डिबेन्चर २०९० को तीन प्रतिशत र बोटलर्स नेपाल (बालाजु) को २.९७ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स ३२ करोड ७० लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। शिवम् सिमेन्टको ३१ करोड ५७ लाख र अपी पावर कम्पनीको २८ करोड ४४ लाख रुपैयाँको कारोबार भयो।
मंगलबार सबै १३ उपसमूहको सूचक बढेका छन्। निर्जीवन बिमा उपसमूह सबैभन्दा धेरै २.८२ प्रतिशतले बढ्यो। जीवन बिमा २.५९ प्रतिशत र लगानी उपसमूह २.५२ प्रतिशतले बढेका छन्।
लगानीकर्ताले सरकारले सार्वजनिक गरेको कार्ययोजनाले पुँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन तथा लगानीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने बताएका छन्। मंगलबारको बजार वृद्धिले लगानीकर्ता सरकारले प्रस्ताव गरेका पुँजी बजार सुधारका उपाय कार्यान्वयन हुने विषयलाई नजिकबाट नियालिरहेको देखाएको छ।


