सेयर बजारका समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिबद्ध

हिमाल प्रेस ४ साउन २०८३ १५:४८ | Monday, July 20, 2026
12
SHARES
सेयर बजारका समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिबद्ध प्रधानमन्त्री बालेन।

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिंहदरबारमा सोमबार पुँजीबजार तथा धितोपत्र व्यवसायसँग सम्बन्धित सरोकारवाला निकाय र व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले आवश्यक काम अघि बढाइरहेको बताए।

उनले व्यवसायीका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग थप छलफल गरी आवश्यक निर्णय लिइने प्रतिबद्धता व्यक्त गरे। छलफलमा सहभागी सेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठन गर्नुको सट्टा सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

सरोकारवालाले लगानीकर्ताको मनोबल बढाउने, बजारमा आपूर्तिसँगै माग पक्षलाई पनि सन्तुलित बनाउने, करसम्बन्धी अस्पष्टता हटाई घाटा समायोजनपछि मात्र कर असुल गर्ने व्यवस्था मिलाउने तथा नेपाल राष्ट्र बैंकले ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमावली तयार गर्नुपर्ने सुझाव दिएका थिए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने, दक्ष जनशक्ति आकर्षित गर्ने वातावरण सिर्जना गर्ने, धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन गरी योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको व्यवस्था गर्नुपर्ने सुझाव पनि छलफलमा प्रस्तुत गरिएको थियो।

छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाललगायत सम्बन्धित निकायका पदाधिकारीको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast