सेयर बजार

६९ अर्ब ३० करोड रुपैयाँ उठाउन आईपीओको पर्खाइमा १०४ कम्पनी

हिमाल प्रेस २५ जेठ २०८३ १३:१९ | Monday, June 8, 2026
10
SHARES
६९ अर्ब ३० करोड रुपैयाँ उठाउन आईपीओको पर्खाइमा १०४ कम्पनी

काठमाडौँ– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा १०४ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति माग्दै आवेदन दिएका छन्। यी कम्पनीहरूले सर्वसाधारणबाट कुल ६९ अर्ब ३० करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेका छन्।

सेबोनका अनुसार आवेदन दिएका कम्पनीहरूले कुल ४७ करोड २८ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएका छन्।

प्रस्तावित पुँजी संकलनमध्ये सबैभन्दा ठूलो हिस्सा उत्पादन तथा प्रशोधन क्षेत्रको छ। यस क्षेत्रका ३० कम्पनीले १६ करोड ६४ लाख २० हजार कित्ता सेयर निष्कासन गरी ३५ अर्ब ३५ करोड रुपैयाँ उठाउन अनुमति मागेका छन्। तीमध्ये आठ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेका छन्। यस क्रममा मारुती सिमेन्टले प्रतिकित्ता ४२६ रुपैयाँका दरले सबैभन्दा उच्च मूल्यमा आईपीओ निष्कासन गर्ने योजना बनाएको छ।

उत्पादन तथा प्रशोधन क्षेत्रकै १० कम्पनीले एक अर्ब रुपैयाँभन्दा बढी पुँजी संकलन गर्ने लक्ष्य राखेका छन्। जगदम्बा स्टिल्सले प्रतिकित्ता ३३० रुपैयाँका दरले दुई करोड सात लाख कित्ता सेयर जारी गरी ६ अर्ब ६२ करोड रुपैयाँ उठाउन अनुमति मागेको छ। यो हालसम्मकै सबैभन्दा ठूलो प्रस्तावित आईपीओमध्ये एक हो।

जलविद्युत् क्षेत्रमा भने सबैभन्दा धेरै कम्पनी आईपीओको पाइपलाइनमा रहेका छन्। ३४ जलविद्युत् कम्पनीले संयुक्त रूपमा १७ करोड १४ लाख ८० हजार कित्ता सेयर जारी गरी १७ अर्ब ५० करोड रुपैयाँ उठाउने तयारी गरेका छन्। तीमध्ये सिउरी न्यादी पावर कम्पनीले तीन करोड दुई लाख ६० हजार कित्ता सेयर बिक्रीमार्फत तीन अर्ब तीन करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। कम्पनीले लमजुङमा ४०.२७ मेगावाट क्षमताको रन–अफ–द–रिभर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

होटल तथा पर्यटन क्षेत्रमा दुई केबलकार कम्पनी र एक वायुसेवा कम्पनीसहित १८ कम्पनीले पाँच करोड ८२ लाख १० हजार कित्ता सेयर जारी गरी ६ अर्ब ४५ करोड रुपैयाँ उठाउन अनुमति मागेका छन्। यस क्षेत्रको सबैभन्दा ठूलो आईपीओ श्री एयरलाइन्सको हुनेछ। कम्पनीले प्रतिकित्ता २०० रुपैयाँका दरले ६३ लाख कित्ता सेयर बिक्री गरी एक अर्ब २६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

‘अन्य’ समूहअन्तर्गतका १४ कम्पनीले चार करोड ८६ लाख २० हजार कित्ता सेयर निष्कासन गरी पाँच अर्ब ९० करोड रुपैयाँ उठाउन आवेदन दिएका छन्। यस समूहमा डिस मिडिया नेटवर्कले सबैभन्दा ठूलो प्रस्ताव ल्याएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका एक करोड ९७ लाख कित्ता सेयर जारी गरी एक अर्ब ९७ करोड रुपैयाँ उठाउने योजना बनाएको छ।

यस्तै, पाँच लगानी कम्पनीले संयुक्त रूपमा दुई करोड १४ लाख कित्ता सेयर निष्कासन गरी तीन अर्ब ४१ करोड रुपैयाँ उठाउन अनुमति मागेका छन्। तीमध्ये शिवम् होल्डिङ्स लिमिटेडले प्रतिकित्ता २१० रुपैयाँका दरले एक करोड १६ लाख कित्ता सेयर जारी गरी दुई अर्ब ४३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

तीन लघु बिमा कम्पनीले पनि संयुक्त रूपमा ६७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी ६७ करोड ५० लाख रुपैयाँ उठाउन सेबोनको स्वीकृति पर्खिरहेका छन्। प्रत्येक कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने योजना बनाएका छन्।

यद्यपि, सेबोन करिब दुई महिनादेखि नेतृत्वविहीन रहेकाले आईपीओ स्वीकृति प्रक्रिया प्रभावित बनेको छ। तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएयता अध्यक्ष पद रिक्त रहँदा नयाँ आईपीओ स्वीकृतिको प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

प्रकाशित: २५ जेठ २०८३ १३:१९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast