काठमाडौँ- शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा बाढीका कारण विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
विभागले प्रभावित विद्यालय र सम्बन्धित स्थानीय तहलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था मूल्यांकन गर्न, आवश्यकताअनुसार परामर्श तथा सहयोग प्रदान गर्न र नियमित कक्षाका लागि विद्यार्थी तयार भएको सुनिश्चित गरेपछि मात्र पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ।
यस्तै, विपद्का कारण विद्यार्थीको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै सुरक्षित र बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न विद्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी कार्यान्वयन तथा सहजीकरण गर्न पनि विभागले अनुरोध गरेको छ।


